काठमाडौँ, चैत्र २८
निजी प्रकाशन कम्पनी पेज टर्नर प्रालिले आफ्नो प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष भरत पौडेलको अध्यक्षता र वरिष्ठ साहित्यकार तथा नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्माको प्रमुख आतिथ्यमा काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा आयोजित उक्त कार्यक्रममा कम्पनीले प्रकाशित गरेको प्रमोद प्याकुरेलको उपन्यास ‘खटप्वाल’ तथा घनेन्द्र ओझाले तयार पारेको जीवनी–सङ्गह ‘बेग्लै आकाश’ को विमोचनसमेत गरिएको थियो । साथै पेज टर्नरको साहित्यिक अनलाइन ‘निरूपण डटकम’ तथा अङ्ग्रेजी बाल वेब पत्रिका ‘ट्विलाइट जुनियर’ को पनि लोकर्पण गरिएको थियो । निरूपण डटकमले पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगीको सम्पादकत्वमा आफ्नो प्रकाशन सुरु गरेको हो भने ‘ट्विलाइट जुनियर’ लाई सूचना प्रविधि इन्जिनियर तथा कवि अनिल खतिवडाले सम्पादन गर्ने छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष भरत पौडेलले आफ्नो कम्पनीले साहित्यिक पुस्तकको प्रकाशनका अतिरिक्त बालसाहित्य, माथि उल्लेखित दुई बेव पत्रिका तथा छापामै ‘ट्विलाइट’ अङ्गेजी मासिक बालपत्रिका प्रकाशित गर्ने बताए । उनले भने, ‘साहित्यको बजारमा व्यावसायिकता र पारदर्शितामाथि प्रश्न उठिरहेको सम्दर्भमा लेखक, सम्पादक, समीक्षक, भाषा सम्पादक तथा अनुवादकजस्ता भाषा–साहित्यमा संलग्न सबैको बौद्धिक सम्पत्तिमाथि पूर्ण न्याय गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ कार्यक्रममा सर्जकहरू भुवनहरि सिग्देल, प्रतीक ढकाल, भोजराज घिमिरे, अशोक थापा, महेश पौड्याल, भवानी खतिवडा, जया ओझा, महेश कार्की क्षितिज, घनेन्द्र ओझा, प्रमोद प्याकुरेल आदि पेज टर्नरमा लेखकका रूपमा अनुबन्धित भएको पनि जानकारी गराइएको थियो ।

प्रमोद प्याकुरेलको उपन्यास ‘खटप्वाल’ माथि बोल्दै समालोचक डा. अकोश थापाले उक्त कृतिमा मानवताको उदात्त उदाहरण प्रस्तुत भएको बताए । सुस्त मनास्थितिका पात्र तथा असमान आर्थिक अवस्थाका पात्रहरूबीचको अन्तरसम्बन्धमा आधारित उपन्यासले काठमाडौँको परिवेशमा उकुसमुकुस बनेका मानिसहरूको मनोदशासमेत समेटेको बताए । सर्जक प्याकुरेलले आफू निरन्तर आख्यान लेखनमा लागिरहने प्रतिबद्धता व्यक्त गरे । घनेन्द्र ओझाद्वारा लिखित जीवनी–सङ्ग्रह ‘बेग्लै आकाश’ लाई समालोचक महेश पौड्यालले आम जनमासनका लागि प्रेरणको एउटा बलियो श्रोत बताए । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व अर्थमन्त्री शङ्कर कोइराला, पूर्व मुख्यसचिवहरू डा. विमल कोइराला र डा. भोजराज घिमिरे, पूर्व सचिवहरू केशव भट्टराई र दिनेश अधिकारी, पूर्व सहसचिव प्रतीक ढकाल, पूर्व उपसचिव चुाडमणि देवकोटा, प्राध्यापकहरू डा. कृष्णहरि बराल, घनश्याम न्यौपाने परिश्रमी र डा. रामप्रसाद ज्ञवाली, साहित्यकार कृष्ण धरावासी तथा सङ्गीतकार शक्तिबल्लभजस्ता सफलताको शिखरमा पुगेका चिरपरिचित सार्वजनिक व्यक्तित्वहरूको जीवनका सुख–दुःख, सङ्घर्ष, साहित्य तथा कला साधना, तथा सफलताका कथाले सबैलाई प्रेरणा दिने बताए । सर्जक घनेन्द्र ओझाले आफूले पत्रकारिता र साहित्यको ज्ञान र सीपले भ्याएसम्म न्यायपूर्ण तरिकाले जीवनी लेख्ने प्रयास गरेको बताए । यस्ता जीवनीका अरू पनि शृङ्खला थप्दै लाने प्रतिबद्धतासमेत उनले जनाए ।
यसै कार्यक्रममा लोकार्पित साहित्यिक अनलाइन पत्रिका ‘निरूपण डटकम’ का सम्पादक लक्ष्मण वियोगीले आफूहरूले कम सिर्जना छाप्ने, र सम्पादकीय टिप्पणीसहित छाप्ने बताए । उनले भने, यस्ता साहित्यिक पोर्टलहरूको भीडमा ‘निरूपण डटकम’ ले समकालीन नेपाली साहित्यको गुणस्तर र मानक स्थापना गर्ने प्रयाग गर्नेछ । ‘ट्विलाइट जुनियर’ का कार्यकारी सम्पादक अनिल खतिवडाले आफूहरूले यस पत्रिकामार्फत् सरल अङ्ग्रेजी भाषामा नेपाली विषयवस्तु स्कुल–स्कुलसम्म र प्रत्येक बालबालिकासम्म पु¥याउन चाहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ गीतकार तथा चलिचत्र निर्देशक यादव खरेलले पाठक निरन्तर घटिरहेको सन्दर्भमा छापाका अतिरिक्त अन्य माध्यमबाट पनि साहित्य पस्कने चेष्टा आजको समयको माग भएको बताए । प्रमुख अतिथि रमा शर्माले विविध आयामहरूबाट नेपाली साहित्यको सेवा गर्न अगाडि आएको पेज टर्नर प्रालिलाई सफलताको शुभकामना दिइन् ।

एकीकृत समाजवादी काठमाडौंको पूर्ण बैठक सम्पन्न

शंखरापुरका बिजय चौलागाई सहभागी नेपालको टिमले भारतको हिमाचलमा जित्यो प्याराग्लाईडिङमा ५० हजार।