काठमाडौँ – धादिङ्गमा सोमबार राति पहिरो जाँदा एकै परिवारका तीनजनाको ज्यान गएको छ।
त्रिपुरासुन्दरी गाउँपालिका–६ गोलाङमा राति दुई बजेपछि पहिरो जाँदा घर पुरिएर सुतिरहेका तीनजनाको ज्यान गएको गाउँपालिका अध्यक्ष शम्भुकुमार थापाले जानकारी दिएका छन् ।
पहिरोमा परी मृत्यु हुनेमा २५ वर्षका मिलन खाँड, उनकी श्रीमती २२ वर्षकी सम्झना खाँड र छोरी दुई वर्षकी अञ्जिता रहेका छन् ।
भूकम्पले भत्किएको घर हालै पूनर्निर्माण सकेर खाँड परिवार नयाँ घरमा बसेको थियो । तर घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको हो ।
तीनैजनाको शव निकालेर पोस्टमार्टमका लागि सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको अध्यक्ष थापाले जानकारी दिए ।