असोज २, काठमाडौं।
जनकपुरमा नेपालले नै किनेको रेल आज आईपुगेको छ। कुर्था–जनकपुरधाम तथा भारतको जयनगरसम्म सञ्चालनका लागि दुई वटा रेल नेपाल आइपुगेका हुन्।६ वर्षभन्दा बढी समयपछि जनकपुर-जयनगर रेल सेवा सञ्चालन हुने भएको छ। लामो समयसम्म बन्द रहेको नेपालको एकमात्र रेल सेवा पुनः संचालनका लागि सरकारले दुई सेट रेल ल्याइएको हो।
विशेषरूपमा डिजाइन गरिएको यसरी ल्याइएका रेलको बोगिहरुमा नेपालको राष्ट्रिय झण्डामा रहेका रंगहरूको संयोजनमा रेलको बाहिरी आवरण तयार पारीएको हो।
रेल बिभागका अनुसार १३०० सिट क्षमताको यो रेल भारतको मद्रासमा बनेको हो।डिजेलबाट चल्ने दुइवटा इन्जिन रहेको उक्त्त रेललाई फर्काइराख्नु पर्दैन।
यसमा आरामदायी एसीयुक्त सिटहरू छन्। यो रेल करिव १ अरब रुपैयामा खरिद गरिएको रेल बिभागले जनाएको छ।
रेल बनाउन भारतीय कम्पनी इन्टरनेशनल कोच फ्याक्ट्रीलाई दिइएको थियो। यो कम्पनी रेल निर्माणका लागि भारतमा चर्चित मानिन्छ।
यो रेल नेपाल रेल्वे कम्पनीले चलाउँछ।