अन्तराष्ट्रिय कवि
                                      -गणेश  प्रसाद खतिवडा 
अङ्ग्रेजी कविताले सामाजिक सञ्जाल तातिरहँदा
मलाई पनि लागेको हो
त्यस्तै कविता लेखेर हाल्ने रहर
गुगल ट्रान्स्लेटरबाट
अनुवाद गरेर मेरो आफ्नै कविता
तर,
शङ्का पलायो एक्कासी
मेरा वार्णिक छन्द र लोकलय
जान्दछन् वा जान्दैनन् रसियनहरूले
चिन्छन् कि चिन्दैनन्
गुन्द्रुक, सिन्की र किनिमाको स्वाद
चाखेका छन् कि छैनन्
अमी….लो भाती जाँड
देखेका छन् कि छैनन्
हर्पे चौँठो र मदानी
थाहा छ कि छैन
बाहुनले हलो जोत्न र महिलाले
हरिश नाघ्न नहुने हाम्रो संस्कार
थाहा होला कि नहोला
दुधेरी झुण्ड्याउने सिँगौरो
कसरी बुझाउने मैले
कर्काली, चम्चा र आचमनीको फरकपन
पासो लगाउने डोरी र जनैमा भिन्नता
झाँक्री र डाक्टरको स्वभाव
ढिंडो र हलुवाको स्वाद
कसार र लड्डुको महत्व
दोहोरी र र्यापको धून
गहुँत र सुनपानीको प्रयोग
बुझ्लान् र उनीहरूले
चुलो र अँगेनो
चम्को र ओदान
हँसिया र खुर्पी
बाकस र सन्दूक
मस्ट भनेको के हो भनेर सोधे भने?
घोप्टे र लिस्नो खोजे भने ?
तोसो र बट्नेसो मागे भने?
कुल देउताको थान तिर लागे भने ?
फिपी, फुचेल र कोक्रो सुनेर हाँसे
भने ?
मडारिएका थिए हजार प्रश्न
घुमेको थियो दिमाग
ठाडा भएका थिए रौँहरू
धमिला हुँदै थिए आँखा
एक्कासी आकाशवाणी भयो
राष्ट्रिय बन्न सिक्नुस् महाशय
अनि बल्ल अन्तराष्ट्रिय बन्न बाटो
खुल्नेछ ।
               असोज १४
गणेश प्रसाद खतिवडा , मूलपानी |

कागेश्वोरी मनोहरामा रेबिज बिरुद्द्को खोप कार्यक्रमको सुरुवात

शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको संख्या ४२ पुग्यो