काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी शक्तिको उदयले साम्राज्यवादी शक्तिहरू डराउन थालेको बताएका छन् । पार्टी केन्द्रीय कमिटीको पुर्ण बैठकमा बोल्दै उनले साम्राज्यवादी शक्तिहरू आतङ्कित भएको दाबी गरेका हुन् ।
उनले भने, ‘विश्व परिस्थिति सङ्गिन ढङ्गले बढिरहेको छ । साम्राज्यवादी शक्तिहरू आतङ्कित भएका छन् । समाजवादी शक्ति जति शक्तिशाली हुँदै जान्छन्, त्यस्ता शक्तिहरू त्यति नै डराउँछन् ।’ ‘त्यही भएर उनीहरूले युक्रेन युद्धको सुरुवात गरे । युक्रेनमा रुसले आक्रमण गरेकोभन्दा पनि युक्रेनलाई प्रयोग गरेर साम्राज्यवादीहरूले रुसकाविरुद्ध षडयन्त्र सुरु गरे । रुसलाई त्यहाँ सैनिक कारबाही गर्न बाध्य बनाइयो,’ खनालले भने, ‘युक्रेनलाई युद्ध मैदान बनाए ।
यो युद्ध एक कदम अगाडि बढ्यो भनेर विश्वयुद्ध सुरु हुन्छ भन्ने त्राससमेत फैलिन थालेको छ । यता मध्यपूर्वमा पनि युद्ध चर्केको छ ।’
खनालले पार्टीबारे अनेक प्रकारका वैचारिक आक्रमण भइरहे पनि प्रतिक्रियावादीहरूका अनेक षडयन्त्रहरू भए पनि ती सबै कुराहरूलाई चिर्दै, तिनीहरूको प्रतिकार गर्दै पार्टी लगातार अघि बढ्दै आइरहेको जिकिर गरे । १० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न हुनु भनेको पार्टीको ऐतिहासिक सफलता भएको उनको भनाई थियो ।