गाउँपालिकाका शिक्षा प्राविधिक सहायकसहित तीन आरोपी पक्राउ
भैरहवा । तालिममा सहभागी गराउने भनेर बोलाएकी युवतीलाई होटेलमा पुर्याएर सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देहीको कोटहीमाई गाउँपालिकाका तीन युवकलाई पक्राउ गरेको छ । डेढ साताअघि गाउँकै तीन व्यक्तिले ती किशोरीलाई तालिममा सहभागी गराउने भन्दै होटलमा पुर्याएको प्रहरीले जनाएको छ ।
झुक्याएर होटलमा पुर्यााएपछि बन्धक बनाएर तीन जनाले बलात्कार गरेको युवतीका आफन्तले बताएका छन् । शनिबार पीडितको जाहेरी प्राप्त भएपछि आरोपित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मनोहर भट्टले जानकारी दिए । ‘पीडितलाई जिल्ला प्रहरी बोलाएका छौं, थप बुझेर घटनास्थल यकिन गरेपछि कारबाही थाल्छौं’, उनले भने ।
भदौ ५ गते कोटहीमाई–६, का मनोहर चौधरी (कुर्मी) ले तालिममा सहभागी गराउने भन्दै युवतीलाई मोटरसाइकलमा राखेर होटेलमा पुर्याएको स्थानीयले जानकारी दिएका छन् । त्यसपछि भैरहवा नजिकै बनगाईमा रहेका कोटहीमाई–५, का मुकेशकुमार चौधरी (कुर्मी) र कोटहीमाई–३, का शैलेशकुमार पाण्डे पनि उक्त होटेलमा पुगेका थिए ।
युवतीका आफन्तले ती युवाले लुम्बिनीको एक होटेलमा पुर्याएर बन्धक बनाएर बलात्कार गरेको आरोप लगाएका छन् ।