रसुवा । परम्परागत रूपमा धान रोपाइँ गर्दै दहीचिउरा खाने दिन । यसै दिनलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरिएको छ ।

सबैको गलामा धानको माला। निधारमा हिलोको टिका। हातमा धानको हरियो बिऊँ। खेतमा केही हल गोरू।

अनि गलामा धानका माला र निधारमा हिलो टिको लगाएका किसान र शरहबाट एक दिन हिलोमा पसेका मानिसहरु धान रोप्दै।

यो मनोरम र अनौठो दृश्य थियो रसुवाको कालिका गाउँपालिकाको जिवजिबे बजार नजिकैको गैरीगाउँ बेंसीको ।

सिमसिमे पानी परेपनि त्यसको कुनै परवाह नगरी कोही मनोरञ्जन त कोही साँच्चिकै मानो रोपेर मुरी फलाउन तल्लिन देखिन्थे ।

आइतबार जिबजिबेमा पनि २२ औँ राष्ट्रिय धान दिवस भब्य रुपमा मनाइयो ।

समुन्नत नेपालको प्राथमिक आधार, पर्यटन र कृषि नेपाली अर्थतन्त्रका जराधार भन्ने नाराका साथ यस बर्षको रोपाइँ महोत्सव २०८२ लाई स्थानीय संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले गाँउ पर्यटन प्रबर्धन मञ्च नेपाल र कालिका गाँउपालिकाको संयुक्त आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजना गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि थिए रसुवाका प्रतिनिधिसभाका सांसद माननीय मोहन आर्चाय । प्रमुख अतिथि आर्चायले यूवा पलायन रोक्ने देशमै रोजारीका अवसर सृजना गर्नु पर्नेमा जोड दिए । रसुवा पर्यटकीय हिसावले पनि प्रचुर सम्भावना भएको क्षेत्र भएकोले पर्यटनलाई कषिसँग जोडेर लानु पर्नेमा जोड दिए ।

उनले नयाँ गन्तब्यको खोजि गर्दै लाङटाङ र गोसाईकुण्डलाई अझ सहज र स्तरोन्नति गरी धार्मिक पर्यटन प्रर्वधनका लागि गर्न आफूले पहल गर्ने जानकारी दिए । नेपाल कृषि प्रधान देश भएकोले उत्पादनमूलक काममा लागेर स्वदेशी उत्पादन बढाउँदै रोजगारीका अवसर बढाउन युवा अग्रसर भएर नेतृत्वदायी भूमिकामा आउन पर्ने सांसद आर्चायको भनाइ थियो ।

कालिका गाउँपालिकाका अध्यक्ष हरिकृश्ण देबकोटाले नेपालमा कृषि क्षेत्रको योगदान महत्वपूर्ण भएकोले खाद्यान्नमा आत्मनिर्भर हुनु पर्नेमा जोढ दिए । अध्यक्ष देवकोटाले नेपाली रैथाने खाद्य बस्तुको माध्यमबाट विदेशी आकर्षित गर्न सकिने बताए । कृषि र पर्यटनलाई सँगै लिएर जानसकेमा युवा पलायन र आम्दानीको भरपर्दौ श्र्रोत हुने जिकिर गरे ।

कार्यक्रममा स्थानीय राजनीतिक दलका नेता र कृषि बिज्ञले पनि नेपालमा कृषि उत्पादन र आयआर्जनका बिषयमा धारण राखेका थिए ।

स्थानीय भजन समूहले असारे भाखा मार्फत प्रमुख अतिथि र अतिथिलाई मलखाद र बिऊ बिजन समयमा उपलब्ध गराउन आग्रह गरेका थिए ।

असारे भाखामा प्रतियोगितात्मक कार्यक्रम पनि भएको थियो । बिजयी समूहलाई प्रमुख अतिथि आर्चायले नगद र प्रससा पत्र प्रदान गरेका थिए । गाँउ पर्यटन प्रबर्धन मञ्च नेपालका अध्यक्ष सकुन्तला देबकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । गाँउ पर्यटन प्रबर्धन मञ्च नेपालले आन्तरिक तथा बाह्र पर्यटक प्रर्वधन गर्न बिभिन्न कार्यक्रम गर्दै आएको छ ।

ब्यावस्थापनमा कमजोरीले कार्यक्रम अस्तब्यस्त

सानो खेतको गरामा कार्यक्रम स्थल चयन गरिएकाले सहभागी र दर्शकले सास्ती खेप्नु पर्यो ।

सहभागी जति सबैलाई सम्बोधन गर्दै गरिएको आसन ग्रहणले कार्यक्रमलाई पट्यार लाग्दो बनाएको थियो ।

त्यसमाथि सिमसिमे पानीले अतिथि बस्ने स्थान र अन्य सहभागी बस्ने आसलमा पानी परेकोले रोपाइ गर्न जान अधि नै सबै भिजेका थिए । पानीले साउण्ड सिस्टममा अवरोध गर्दा केही बेर कार्यक्रम रोकिएको मात्र थिएन कार्यक्रम स्थलमा लगाइएको पाल भत्कँदा आयोजकको कमजोरी छताछुल्ल भएको थियो ।

यति मात्र होइन रोपाईका लागि भनेर छानिएको स्थान पनि तीन गरा मात्र थिए र त्यसमा पनि साँधुरा गरा, सहभागी बढी हुँदा रोपाई गर्न होकी मेला बजार भर्न गा जस्तो अवस्था आएको थियो ।

रोपाईँका लागि र कार्यक्रमका लागि भनेर छानिएको स्तान भन्दा केही तल फाँटिलो खेत भएपनि आयोजकले साँधुरो स्थान छानेर अस्तब्यस्त पारेका थिए ।

समाचार संकलन गर्न पत्रकारले बुझाए रकम

रोपाई महोत्सवको समाचार संकलनका लागि भनेर गाँउ पर्यटन प्रबर्धन मञ्च नेपालले आधा दर्जन जति टेलिभिजन पत्रकारलाई पनि सँगै लगेको थियो ।

समाचार संकलनका लागि भनेर लगिएका पत्रकारलाई संस्थाकी अध्यक्ष शकुन्तला देवकोटाले जनही पाँच सय तीर्न उर्दी जारी गरेकी थिइन् ।

त्यति टाढा समाचार संकलनका लागि भनेर लगिएका पत्रकार सित अध्यक्ष आर्फैंले पैसा मागेपछि पत्रकारहरु छक्क परेका थिए ।

पेशागत मर्यादा र यस अधि संस्थाले गरेका कार्यक्रममा कुनै रकम माग्ने नगरिएको भएपनि यसपटक रकम माग्दा पत्रकारले आश्चर्य मान्दै अध्यक्ष देवकोटालाई नै रकम बुझाएका थिए ।

निमन्त्रणलाई स्वीकार गरेर कार्यक्रममा सहभागी बन्न गएकी एक परकारले २० बर्षे पत्रकारितामा रमक तिरेर पहिलो पटक समाचार संकलनका लागि गएको गुनासो गरिन ।

हुन पनि आजसम्म कुनै पनि संस्था या कुनै पनि कार्यक्रम आयोजनले समाचार संकलनका लागि बोलाएर रकम असुल गरेको आजसम्म थाहा छैन ।

रकम संकलनका बिषयमा संस्थाकी अध्यक्ष देवकोटा आफैंले यसपटक सहभागी र अतिथि सबैसित रकम उठाएको बताइन ।

बिऊसमेत आयातमै भर

धानचामलको आयात बढिरहेका बेला धानको बिउका लागिसमेत परनिर्भर बन्नु परेको छ ।

चालू आवको ११ महिनामा एक अर्ब २० करोड रुपियाँ बराबरको तीन हजार मेट्रिक टन धानको बिउ आयात भएको छ ।

केन्द्रका अनुसार मुलुकमा वार्षिक एक सिजनका लागि २० हजार मेट्रिक टन धानको बिउ आवश्यक पर्नेमा दुई हजार पाँच सयदेखि तीन हजार मेट्रिक टन बिउ आयात हुने गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट विभिन्न १४८ धानको जात उन्मोचन भई केन्द्रमा दर्ता भएका छन् जसमा ४० वटा जात प्रयोगमा नआई खारेज गरिएको केन्द्रले जनाएको छ ।

यसैबीच नार्कले नयाँ धानको जात खुमल–१८ अनुसन्धान गरी उन्मोचन गरेको छ ।

मध्यपहाडको हावापानीमा उपयुक्त हुने सो जात विकास गरी सिफारिस गरिएको हो । प्रतिहेक्टर क्षेत्रफलमा ५.२ टन उत्पादन हुने बताइएको छ ।

१५ असारसम्म मुलुकभर २०.३ प्रतिशत धान रोपाइँ

१५ असारसम्म मुलुकभर २०.३ प्रतिशत धान रोपाइँ भएको बाली विकास निर्देशनालयले जनाएको छ । गत वर्ष सो अवधिमा २१.३ प्रतिशत धान रोपाइँ भएको थियो ।

मध्य असार सकिँदा सबैभन्दा धेरै सुदूरपश्चिममा ४९.२ प्रतिशत, कर्णाली प्रदेशमा ३९.१ प्रतिशत र गण्डकी प्रदेशमा २८.२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

यस्तै लुम्बिनी प्रदेशमा २४.३ प्रतिशत, बागमती प्रदेशमा २०.५ प्रतिशत, कोशी प्रदेशमा १४.३ प्रतिशत र सबैभन्दा कम ३.९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । पहाडी क्षेत्रमा धान रोपाइँ धेरै भए पनि तराईमा कम भएको छ । पहाडमा चाँडो रोपाइँ हुने र तराईमा ढिलो रोपाइँ हुने गर्छ ।

जसको कारणले गर्दा पनि तराईमा कम रोपाइँ भएको तथ्याङ्कले देखाएको छ । यो वर्ष १३ लाख ९१ हजार ३२१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिने अनुमान गरिएको छ ।

मानो रोपेर मुरी फलाउने यो समयमा पश्चिमको अन्नभण्डार मानिने बर्दियाका किसान अहिले खेतबारीमा व्यस्त छन् । धान रोप्न खेत पसेका किसानको हातमा रासायनिक मल भने छैन । किसानलाई यस वर्ष मनसुनले साथ दिए पनि मल नपाउँदा सरकारले साथ नदिएको अनुभूत गरिरहेका छन् ।

३९ अर्ब रुपियाँ बराबरको धानचामल आयात

सरकारले मुलुकमा धानको उत्पादन र उत्पादकत्व बढाउन विभिन्न प्रयत्न गर्दै आएको छ ।

यही अभिप्रायले दुई दशकदेखि प्रत्येक १५ असारमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै आएको छ ।

धानको उत्पादनमा वृद्धि एवं आधुनिकीकरण र व्यावसायिकीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले २०६१ सालदेखि सो दिवस मनाइँदै आए पनि स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि ठूलो परिमाणमा धानचामल आयात हुने गरेको छ । धान उत्पादन बढाउने पहल धेरै भए पनि कृषिप्रधान देशको स्थानीय उत्पादनले माग धान्न नसक्दा ११ महिनामा झन्डै ३९ अर्ब रुपियाँ बराबरको धानचामल आयात गरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८१/८२ ११ महिनामा (साउन–जेठ) ३८ अर्ब ९४ करोड रुपियाँको धानचामल आयात भएको छ । गत वर्ष सो अवधिमा २१ अर्ब १२ करोड रुपियाँ बराबरको धानचामल आयात भएको थियो । यो वर्ष झन्डै दोब्बर रकमले धानचामलको आयात बढेको तथ्याङ्कले देखाएको छ ।

चालू आवको ११ महिनामा सबैभन्दा धेरै २१ अर्ब १५ करोड रुपियाँ २६ करोड १९ लाख १९ हजार केजी धान आयात भएको छ । गत वर्ष सो अवधिमा १२ अर्ब ४३ करोड रुपियाँ बराबरको १५ करोड ३७ लाख आठ हजार केजी धान आयात भएको थियो ।

यस्तै चालू आवमा १७ अर्ब ७८ करोड ५७ लाख रुपियाँ बराबरको पाँच करोड ७३ लाख ६६ हजार केजी चामल आयात भएको छ । गत वर्ष सो अवधिमा आठ अर्ब ६९ करोड १६ लाख रुपियाँको दुई करोड ६९ लाख सात हजार केजी चामल आयात भएको थियो ।

यस वर्ष धानचामल आयातमा दोब्बरले बढेको तथ्याङ्कले देखाएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा ठूलो परिमाणमा आयात हुने गरेको हो । मुलुकमा धानको उत्पादन बढे पनि आयात पनि बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

कृषि विभागका अनुसार मुलुकमा वार्षिक ७० लाख मेट्रिक टन धानको माग रहेकोमा १० लाख मेट्रिक टन अपुग छ ।

हाल एक लाख १० हजार हेक्टर क्षेत्रफलमा छदेखि सात लाख मेट्रिक टन चैते धान उत्पादन हुने गरेको छ । आगामी आवको बजेटमार्फत दुई वर्षभित्रमा चैते धानको उत्पादन बढाएर आत्मनिर्भर बन्ने कार्यक्रम घोषणा गरिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ । धानको उत्पादकत्व प्रतिहेक्टर ४.१९ मेट्रिक टन रहेको छ ।

संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित

कात्तिक १७ गते रुपन्देही-३ मा उपनिर्वाचन गर्ने