
साउन महिना लागिसक्दा पनि वर्षा नहुँदा खेत सुख्खा छन्। धान रोपाइँसमेत प्रभावित भएको छ।
पानीको आशमा आकाशतर्फ हेरिरहेका किसान अब सरकार र प्रकृति दुवैसँग गुनासो गर्दैछन्। खेतमा पानी छैन। मोटर चलाउने राम्रो व्यवस्था छैन। धान राप्न नपाउँदै मधेशका किसान चिन्तित छन्।
मधेश प्रदेशका धनुषा, सिरहा, सर्लाही महोत्तरी लगायतका जिल्लामा पानीको स्रोत सुकेपछि किसान गहिरो संकटमा छन्।
न त सिंचाइको सुविधा पुगेको छ न त वैकल्पिक उपायहरू अपनाइएको छ। धान रोपाइँ त परै जाओस् खानेपानीको समेत मधेशमा संकट शुरु भइसकेको छ।
मधेश नेपालकै अन्नभण्डार हो। यहाँको मुख्य बाली धान हो। धानले मुलुककै अर्थतन्त्रमा ठूलो टेवा पुर्याउँदै आईरहेको छ।
तर, अहिलेको अवस्थाले उत्पादनमा भारी गिरावट आउने संकेत गरिरहेको छ। यसले खाद्य संकट निम्त्याउने खतरा समेत बढाएको छ। उता किसानलाई खडेरीको चिन्ताले दैनिक पिरोल्छ।
गत वर्ष असारको अन्त्यसम्म ६१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष मनसुनमासमेत पानी नपर्दा मात्र ३६ प्रतिशत धान रोपाइँ हुन सकेको छ।
मधेश सरकारले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। समयमै राहत नपाए यो समस्या सम्पूर्ण देशको बन्नेछ।
खडेरीसँगै मधेशमा चर्किएको खानेपानीको अभाव टार्न मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहकै पहलमा वारुणयन्त्र परिचालन गरिएको छ।
मुहान सुक्दा बारा र पर्सामा खानेपानीको चरम अभाव छ। अन्य जिल्लामा पनि चापाकल सुक्दा खानेपानीका लागि स्थानीय सास्ती भोग्न बाध्य छन्।
यही समस्यालाई मध्यनजर गर्दै मधेश सरकारले प्रदेशका विभिन्न स्थानीय तहलाई १६ वटा वारुण यन्त्र समेत हस्तान्तरण गरेको छ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खानेपानीकोसमेत अभाव भएको अवस्थामा कृषिमा यसले ठूलो क्षति हुने बताए।
कृषिमा आजसम्म ३६ प्रतिशत रोपाइँ मात्र भएको बताए। विगतका वर्षहरुमा ७५ प्रतिशत रोपाइँ सकिसकेको हुन्थ्यो। बोरिङ गरेर पनि समस्या समाधान हुनसक्ने स्थिति नरहेको उनले बताए।
मुख्यमन्त्री सिंहले सुक्खा र खानेपानी संकटका कारण प्रभावित प्रदेशका नागरिकको समस्या समाधानमा प्रदेश सरकार नागरिकका साथमा रहेको बताए।
उनले मधेशमा देखिएको खानेपानीको समस्या टार्न संघीय खानेपानी मन्त्री प्रदीप यादवसँग छलफल गरेका थिए।
मधेशमा सतह मुनिको पानी दिनदिनै झर्दै गइरहेको छ। यसले भूमिगत सिँचाइ प्रणालीसमेत प्रभावित भइरहेको मुख्यमन्त्री सिंहले बताए।




