काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने प्रयासमा आफूहरू लागि परेको बताएका छन् ।
वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँगको पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अन्य राजनीतिक समूहहरूसँग पनि छलफल भइरहेको जानकारी दिए ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भने, “हामी एकताबद्ध भएर अघि बढ्न चाहनेहरूसँग सहकार्य गर्दै आएका छौँ । सहकार्य मात्र होइन, समाजवादी मोर्चा पनि गठन गरेका छौँ, जसमा हाम्रो पार्टी, माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा र नेसपा सहभागी छन् ।
यी समूहहरूसँग साझा मुद्दामा आन्दोलन गर्दै अघि बढिरहेका छौँ। विचार, सिद्धान्त र भावना मिलेमा यस्ता समूहहरूसँग एकताबद्ध भएर अघि बढ्न तयार छौँ ।”
उनले पार्टी एकताभन्दा पहिले आफ्नै पार्टीलाई सुदृढ बनाउनु प्राथमिकता रहेको समेत उल्लेख गरे ।
अध्यक्ष नेपालले नेकपा एमालेले आफ्नो पार्टीलाई कमजोर बनाउन प्रयास गरिरहेको आरोप लगाउँदै एमालेसँग एकताको कुनै सम्भावना नरहेको भन्दै उनले ‘हालको परिस्थितिमा नेकपा (एमाले) सँग एकताको कुनै सम्भावना छैन।
हामीले त्यहाँको अवस्था स्पष्ट देखेका छौँ। यदि कसैलाई एकताको आशा वा अपेक्षा छ भने, मसँग भन्नु केही छैन,’ उनले भने । नेपालले एमालेको आन्तरिक अवस्थाबारे आफू जानकार रहेको उल्लेख गर्दै एकताको भ्रम नपाल्न आग्रह गरे । विगतमा भएका कमजोरीहरू सच्याएर, आत्मसमीक्षा गरेर र गल्ती स्विकार्ने साहस देखाएर अघि बढ्नुपर्छ,’ उनले भने ।
उनले गल्ती गर्नेहरूले आफ्ना कमीकमजोरीलाई स्वीकार गरी सुधार गर्नुपर्नेमा जोड दिए ।
गौतम ७५ जना केन्द्रीय समितिको समर्थन सहित नौ जिल्लामा आफ्नो कमिटी छन्, उनीहरु सबैको समर्थन लिएर आएको बताएका छन् ।





