काठमाडौँ । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच एकता भएको छ ।

शुक्रबार राष्ट्रिय सभागृहमा भएको समारोह गरी दुई पार्टीबिच एकता भएको घोषणा भएको हो ।
समारोहमा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले एकीकृत समाजवादीमा समाहित भएको घोषणा गरेका थिए ।

पार्टी एकीकरण हुँदा ज्यादै खुसी भएको गौतमले बताए । पार्टी कार्यालय स्वयम्भूबाट एकीकृत पार्टीको कार्यालयसम्म आउन चार वर्ष लागेको बताए ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले सय वर्षसम्म कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने सङ्कल्प समेत गरेका छन् । उनले अझै २३ वर्ष कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने सङ्कल्प गरेका हुन् ।

गौतमले आफूले जिम्मा लिएको कुनै पनि आन्दोलन कहिल्यै असफल नभएको भन्दै आवश्यक परे आफ्ना हातहरू हतियारका रुपमा प्रयोग गर्ने बताए । उनले भने मैले जिम्मा लिएको आन्दोलन कहिल्यै असफल भएको छैन । सफलता मात्रै मिलेको छ ।’

उनले भने, ‘म एसएलसी मात्र पास गरेका मान्छे हो । त्यही पनि थर्ड डिविजनमा बल्लतल्ल पास गरेँ । अहिले ७७ वर्षको भएँ । सय वर्षसम्म बाँच्नुपर्छ जस्तो लाग्छ । सय वर्ष कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउँछु । दुई वटा सङ्कल्प लिएर म कम्युनिस्ट आन्दोलनमा लागेँ । एउटा राजतन्त्रको अन्त्य अर्को कम्युनिस्ट पार्टीलाई एउटै बनाउने । त्यो २०७५ सालमा पास भयो । त्यतिबेला म ज्यादै खुसी थिएँ ।’

उनले अबको सङ्कल्प आफ्नै जीवनका कालमा समाजवादमा लैजाने रहेको भएपनि त्यो पुरा हुने बताए । आफूले चार वर्षदेखि नै वामपन्थी राजनीतिमा लागेको जिकिर गर्दै यस यात्रामा धेरै हण्डर ठक्कर खाएर आएकाले फहराएको झण्डालाई झुक्न नदिने सङ्कल्प गरे ।

गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई घमण्डी नेताको संज्ञा दिएका छन् ।

पुरानो सम्बन्ध सम्झिने सिलसिलामा उनले केपी ओली र माधव दुवैको व्यक्तिगत स्वभाव र प्रवृतिमाथि टिप्पणी गरे । गौतमले भने, ‘म नेपालमा कम्युनिष्टको एउटै पार्टी बनाउनुपर्छ, छरिएका कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउनुपर्छ भनेर लाग्दा केपी ओली तयार हुनुभएन, घमण्डी कुरा गर्नुभयो, बरु माधव कमरेड तयार हुनुभयो ।’

नेकपा एकीकृत समाजवादीसँग एकता गर्न चार वर्ष ढिला भएको र त्यसको कारण पनि प्रधानमन्त्री ओली नै रहेको उनले स्पष्ट पारे ।

यो ढिलाईले समाजवाद लागू गर्ने सवालमा पनि बिलम्ब भएको निष्कर्ष छ उनको । अहिले म ७५ जना केन्द्रीय समितिको समर्थन बोकेर आएको छु । नौ जिल्लामा आफ्नो कमिटी छन्, उनीहरु सबैको समर्थन लिएर आएको छु’, गौतमले प्रष्ट्याए ।

गौतमले १० वर्षभित्र समाजवाद निर्माण गरेर नेपाललाई यूरोपका मुलुकको अवस्थामा पुर्‍याउँने बताए । उनले भने ‘हामी संसारका मगन्ते होइनौँ, संसारलाई पाल्नसक्ने अवस्थामा पुग्नेछौँ । यो देश हाम्रो हो । यो देश हाम्रा पुर्खाले हामीलाई सुम्पेको हो । त्यही समाजवाद निर्माणका लागि सुम्पेको हो ।’

गौतम एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्दा उपस्थिति नेता तथा कार्यकर्ताहरू निकैबेर हुटिङ गरेका थिए । गौतमले समाजवादीमा वरिष्ठ नेतासहित तेस्रो वरीयता पाएका छन् ।

एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीच एकता

विचार मिल्नेसँग एकता गछौँ- अध्यक्ष नेपाल