काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । नेपालको इतिहासमा पहिलोपटक मन्त्रिपरिषद्को निर्णय र पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले नेता नेपालविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता भएको जानकारी दिए । अन्यको हकमा भने विगो रकम फरक फरक छ । प्रधानमन्त्री भइसकेका व्यक्तिलाई भ्रष्टाचार मुद्दामा अभियुक्त बनाइएको नेपालमा यो पहिलो घटना हो ।
यसअघि अख्तियारले पतञ्जलि योगपीठको जग्गा अनियमिततामाथि अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसँग बयान लिएको थियो ।
मुद्दा दायर गरेसँगै नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ । नेपालको इतिहासमा पहिलोपटक मन्त्रिपरिषद्को निर्णय र पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा चलेको हो । भ्रष्टाचारविरुद्ध मुद्दा किनारा नलागेसम्म सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ ।





