काठमाडौं । नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने कुरालाई निषेध गर्नु नहुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफ्नो नेतृत्व खोसिएला भन्ने डरले प्रवेश निषेध गरिने प्रवृत्ति राम्रो नभएको उल्लेख गरे । “कोही मान्छे पार्टीमा आउँदा मेरो नेतृत्व खोसिएला भन्ने डरले प्रवेश निषेध गरिने खालका प्रवृत्तिहरू अहिले पनि व्याप्त छन् । यो सबैलाई पनि भनेको होइन फेरि पर्ला । कुनै खासको नाम लिएर भन्न चाहन्नँ,” उनले भने ।

कम्युनिस्ट पार्टीका नेताहरूको सक्रियता अहिले जरुरी भएको उनको भनाइ छ । कम्युनिस्टहरू धेरै समूहमा विभाजित रहेको भन्दै विभाजित भएका समूहहरू एकआपसमा छलफल गरेर एउटै हुन जरुरी रहेको उल्लेख गरे । अलग अलग पसल थापेर बस्नु राम्रो नभएकाले एउटै हुनेगरी अघि बढ्न जरुरी रहेको बताए ।

“कम्युनिष्ट पार्टीका नेताहरूको सक्रियता चाहिएको छ । आज कम्युनिस्ट पार्टी थुप्रै समूहमा विभाजित छ । यी विभाजित भएका समूहहरू पनि आपसमा बसेर छलफल गर्ने हो भने धेरै विषयको निरुपण गर्न सकिन्छ । धेरै समस्या समाधान गर्न सकिन्छ । त्यसो हुनाले अलग अलग पसल थापेर बस्नु राम्रो होइन,” उनले भने ।

अध्यक्ष नेपालले पार्टीमा जति धेरै मानिसहरू जम्मा हुन्छन्, जति धेरैको सक्रियता जनाउन सकिन्छ त्यसले आन्दोलनमा फाइदा गर्ने बताए ।

समाजको परिवर्तन र रूपान्तरण गर्ने जिम्मेवारी अझै आफूहरूको काँधमा छ- अध्यक्ष नेपाल

सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुुनो सोझ्याउने काम पुुष्पलालले कहिल्यै गर्नुभएन : प्रधानमन्त्री