काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई अदालतले न्याय दिने बताउनु भएको छ।
मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘सबै गलत आरोपहरुका विरुद्धमा दृढका साथ उभिने छ। मलाई विश्वास छ, न्याय पालिकाले न्याय दिनेछ। न्यायको जित हुनेछ। अन्यायको हार हुनेछ। ‘
शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा संगठनका अध्यक्ष वेदनाथ कोइरालाको अध्यक्षतामा सम्पन्न अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दाको आधार नभएको बताउँदै त्यस्तो गलत आरोपको डटेर सामना गर्ने बताउनुभयो। अहिलेसम्म एक पैसा र एक दाम जग्गा घुस नखाएको बताउँदै उहाँले डराउनु पर्ने आवश्यक नभएको बताउनुभयो।
‘हामी आत्तिनु पर्ने आवश्यकता छैन। चुनौती आइलागेको छ। यसको सामना गर्ने हो। हामी भाग्ने होइन’, उहाँले अगाडि भन्नुभयो,‘असल मनसायका साथ कुनै काम गरिएको छ भने आत्तिनु पर्ने केही आवश्यक हुँदैन।’
कुनै निजी स्वार्थ र फाइदाको लागि कामसमेत नगरेको अध्यक्ष नेपालको भनाइ छ। पतञ्जलिको जग्गा प्रकरणमा नेपाललाई बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। सोही विषयलाई लिएर अध्यक्ष नेपालले आफूमाथि राज्यले राजनीतिक प्रतिशोध साँधेको बताउनुभयो।





