काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबढी विमान खरिद प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा अख्तियारले गरेको अभियोजनमा पूर्वन्यायाधीश फोरमले आपत्ति जनाएको छ। बिहीवार फोरमले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो।
‘विशेष अदालतले फैसला गर्दा एउटै कार्यमा संलग्न कसैलाई अभियोजन गर्ने र कसैलाई अभियोजन नै नगर्नेजस्तो चयनमुखी अभियोजनको दृष्टिकोण अवलम्बन गरेको’ फोरमको भनाइ छ। त्यसरी अभियोजन गर्नु समान न्यायको सिद्धान्तविरुद्ध हुने फोरमले बताएको छ।
वाइडवडी विमान खरिद प्रक्रियाको फैसला सरोकारवालालगायत आम सर्वसाधारणमा समेत सकारात्मक सन्देश नगएको फोरमको निचोड छ। प्रायः सबै अदालतबाट कानूनको पालना हुन नसकेको भन्ने गुनासाहरुको यथाशीघ्र सम्बोधन हुन सकेन भने कानून बमोजिम न्याय प्रशासनले जनआस्था आर्जन गर्न नसक्ने पनि फोरमले प्रष्ट पारेको छ।
‘यस्तो कार्यले कानून सबैको लागि बराबर हो भन्ने भावनामा आघात पुर्याउने र न्यायप्रतिको विश्वास कमजोर बनाउँछ,’ फोरमले भनेको छ।
फोरमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो संवैधानिक निकायद्वारा गरिने अनुसन्धान र अभियोजन गर्ने संस्थाका पदाधिकारीका सम्बन्धमा विवाद उठाइएको उल्लेख गरेको छ। ‘यस्ता विवादित अनुसन्धान र अभियोजन कानूनको शासनको सिद्धान्तको मूल्य र मान्यता विपरीत भएर जनमानसमा गम्भीर चिन्ता र चासोको विषय बन्न गएको छ,’ उसले भनेको छ, ‘यसमा जिम्मेवार पदाधिकारीहरुको दायित्व बोध हुन अनिवार्य देखिएको छ।’
अवैधानिक शासनपद्धति, कानूनी राज्य, स्वतन्त्र, निष्पक्ष तथा न्यायपालिका र लोकतान्त्रिक शासन व्यवस्थासमेतको सुदृढीकरणका लागि यस फोरमले समसामयिक विषयका सम्वन्धमा ध्यानाकर्षण गराउँदै आएको भन्दै हाल पनि केही समसामयिक घटनाक्रमले सवैधानिक सर्वोच्चता, कानूनको अगाडि समानता तथा कानूनको उचित प्रकियाका सिद्धान्तसमेतका आधारमा सरोकारवाला तथा सर्वसाधारण सबैको ध्यानाकर्षण गराउन अनिवार्य देखिएको फोरमले उल्लेख गरेको छ।







