हेटौंडा, बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफू कांग्रेसको संसदीय दलको नेतामा पराजित भएपनि मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताएका छन् ।
कांग्रेस बागमतीको दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू संविधानअनुसार चल्ने बताए ।
उनले भने, ‘राजीनामा दिनुपर्ने कुनै आधार छैन । हामी संविधान अनुसार चल्ने हो ।’
उनले आफू नेतृत्वको सरकार संविधानको धारा १६८ को ९२० अनुसार बनेकाले मुख्यमन्त्री बन्न दलको नेता नचाहिने उनको तर्क छ ।
संविधान अनुसार दुई वर्षसम्म सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने उनले बताए ।
उनले सबैले स्थिर सरकार चाहेकाले आफू नेतृत्वको सरकार अहिले नढल्ने जिकिर गरे ।
राजीनामा नदिए प्रक्रियाबाटै बिदा गर्छौं : नवनिर्वाचित नेता बानियाँ
उता नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएका इन्द्र बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा नदिए प्रक्रियाबाटै हटाउने बताएका छन्।
दलको नेतामा पराजित भएपनि मुख्यमन्त्री बहादुरसिंह लामाले संविधान अनुसार आफूले राजीनामा दिनुपर्ने कुनै कारण नभएको अडान लिएपछि उनले यस्तो बताएका हुन्।

उनले भने, ‘उहाँ नेपाली कांग्रेसका संसदीय दलको नेताको हैसियतले दुई पार्टीबीच गठबन्धन हुँदा उहाँ मुख्यमन्त्री हुनुभएको हो।
उहाँको अहिले दलको नेताको हैसियत गुमेको अवस्था छ। त्यही दलको विधान अनुसार भएको हो। नैतिकता, राजनीतिमा इमानदारिता र पार्टीको साथीहरूको कुरालाई उहाँले मान्नुभएन भने यो उहाँको दुर्भाग्य कुरा हो।’
उनले मुख्यमन्त्रीले राजीनामा नदिए लोकतान्त्रीक अभ्यास अनुसार प्रक्रियाबाटै बिदाइ गर्ने बताए।





