नवलपुर, नारायणघाट–बुटबल सडक खण्डअन्तर्गत दाउन्नेको सडक बन्द हुँदा ६ दिनदेखि मालवाहक सवारी साधन सडकमै रोकिएका छन् ।

नवलपुरको विनयी खोलाको बाढी र दाउन्नेमा बाटो चिप्लो भएका कारण माल बाहक सवारी साधन ६ दिनदेखि सडकमै रोकिएका हुन् ।

काठमाडौँबाट मालवाहक सामान लिएर नेपालगञ्ज जाँदै गरेको ट्रकका चालक राजेश विकले ६ दिनदेखि सडकमै गाडी रोकेर बस्नु परेको बाध्यता सुनाए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनक बन्जराले पाँच छ दिनदेखि गाडीहरु सडकमै ‘होल्ड’ गरेर राखेको जानकारी दिए ।

‘‘लामो समयदेखि जाममा रहेका केही गाडीहरु जहाँबाट आएको हो उतै फर्केका छन्, केही अझै सडकमै छन्,’’ प्रहरी निरीक्षक बन्जराले भने, ‘‘साँघुरो ठाउँमा रहेका गाडीहरुलाई फराकिलो ठाउँमा लगेर राख्ने काम भएको छ, जङ्गलमा रहेका गाडीहरुलाई खान बस्न सजिलो होस् भनेर बजार क्षेत्रमा लगेर होल्ड गरेका छौं ।’’

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका सवारी साधन विनयी खोलाका कारण रोकिएका छन् भने पश्चिमबाट पूर्वतर्फ हिँडेका सवारी दाउन्नेको पहाडमा रोकिएका छन् ।

८ पटकसम्म बगाएपछि दुम्किवासको विनयी खोलामा अब डाइभर्सन निर्माण नगरिने भएको छ भने दाउन्नेको सडक मर्मत गर्नका लागि गाडी आवतजावत गर्न प्रतिबन्ध लगाइएको छ ।

विनयी खोलामा डाइभर्सन नहुँदा साना तथा हलुका सवारी साधन होङ्सी सिमेन्ट हुँदै झण्डै २८ किलो मिटर घुमेर दिउँसोको समयमा पार गर्न दिइए पनि साँझ ७ देखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन आवागमनमा अर्को सूचना जारी नहुँदासम्मका लागि पूर्ण प्रतिबन्ध लगाइएको छ ।

गत पुस २६ गते दुम्किवासस्थित विनयी खोलाको पुल भाँचिएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन गरिँदै आएकोमा खोलामा आउने बाढीले बगाउन थालेपछि अब डाइभर्सन निर्माण नगरिने प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए ।

गत बिहीबार राति विनयी खोलामा डाइभर्सनबाट जाँदै गरेको बस नै खोलाले बगाएको थियो ।

हेवाखोला ब्रिज दुर्घटना : घाइते २ जना उपचारपछि घर फर्के

गणेशमानलाई बदनाम गर्ने शहरी विकास मन्त्रीले माफि माग्नुपर्छ: प्रकाश ज्वाला