मंसिर १८, काठमाडौं।काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष भीमसेन थापाको आज अल्पायुमै दुःखद निधन भएको छ ।

२०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट भारी मतका साथ विजयी भएका वडाध्यक्ष थापाले छोटो समयमै मूलपानी क्षेत्रमा विकास निर्माणको जग बसालेका थिए । सडक, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेख्य काम गरेर उनी स्थानीय जनताको मन जित्न सफल भएका थिए । लामो समयदेखि कलेजोको क्यान्सरसँग लडिरहेका थापाको आज मंसिर १८ गते उपचारका क्रममा निधन भएको हो ।

उहाँको निधनले काठमाडौं क्षेत्र नं. २ ले एक इमानदार, कर्मठ र विकासप्रेमी जनप्रतिनिधि गुमाएको नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. २ का सभापति कवीर शर्माले बताउनुभयो । “उहाँको योगदान यो क्षेत्रले सधैं सम्झिरहनेछ,” उहाँले भावुक हुँदै भन्नुभयो ।स्वर्गीय थापाका एक छोरा र एक छोरी छन् ।

उहाँको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंह, महामन्त्री गगन थापा, काठमाडौं जिल्ला सभापति सबुज बानियाँ, क्षेत्रीय सभापति कवीर शर्मा फुयाँल, कागेश्वरी मनोहरा नगरप्रमुख उपेन्द्र कार्कीलगायतले नेपाली काङ्ग्रेसको झन्डा ओढाई अन्तिम श्रद्धाञ्जली सहित दाहसंस्कार गरिएको थियो ।

वडाध्यक्ष भीमसेन थापाको निधनप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं ।

अरुण काबेली पावर लिमिटेडको साधारणसभा सम्पन, ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित

नेपाली काँग्रेसले काठमाडौँ-२ बाट प्रतिनिधि सभामा कवीर शर्मा उम्मेदवार सिफारिस