तिमीले सिल्ली ठाने पनि
तिमीले गिल्ली गरेपनि
टेक्ने र समाउने नभएका
भुँइ मान्छेहरूको उँधो र उभो
नभेटिए पनि
प्रयत्न सफल भएको छ ।
कथा र बेथाले भरिएको
मन र मुटु टुक्रिएको बेला
पीडा र छट्पटीले
प्रसवपिडा खप्टिएको
गरिखाने र अडिने कामको
निर्णय सामु आएरै छोढ्यो ।
साझा सहमतिको हितमा
कलम चोपिने भएरै छोड्यो ।
छोइछिटो गर्नेहरूको भिडमा
भुँइ मान्छेको हिडाइ
विस्तारै यताउता गर्दै
छेउ र किनारबाट छेकिदै
हेलाँ होचो सहँदै भएपनि
तैरने तरङ्ग कोरिएको छ ।
जौडेहरू छोडेको बेला
हिउँको चिसोमा कठाङ्ग्रिएर
दामको बलिमा ठिङ्ग्याएर
चारैतिर असरल्ल
छताछुल्ल र लथालिङ्ग
बनाएर छोडेका
छौडाहरूको आची सोहोरेर
अगेनोमा अगुल्टो झोसिएको छ
ए सक्कलीहरू हो
अब
तिमी चुसिने बेला आएको छ
तिम्रो काम र नामको लागि
तिम्रै पहिचानको लागि
गाँस र बास खोसीएको बेला
एक पटक
लालाबालाको पेट काटेर
आफ्नु भोकमा पटुका कसेर
तिमीले पाइला टेक्नै पर्छ
एक पटक घुँडा धस्नै पर्छ
अब एक पटक
तिमीहरूको मात्रै होइन
तिमीसँग जोडिएकाहरूको लागि
देश भनेर मरिमेट्नेको लागि
तिमीले घुँडा धस्नै पर्छ
तिम्रो पसिना बग्नै पर्छ
तिमी,
पसिनाले रूझ्नै पर्छ
भुँइ मान्छेहरू जुट्नै पर्छ,
भुतप्रेतहरू मन्साउनु पर्छ
छौंडाहरू पन्साउनै पर्छ ।
लोकतान्त्रिक परिपाटी उठ्नै पर्छ
सीता ओझा





