काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ ले प्रदर्शनको १०० दिन नपुगि १२ करोड माथिको व्यापार गरेको छ । प्रदर्शनको एक सय दिन पुग्नै लाग्दा निर्माताले दर्शकलाई सहुलियत दिने योजना बनाएका छन्।
मिलन चाम्स निर्देशित फिल्म राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ।
बिहिबारबाट प्रदर्शनको ९२ औँ दिनमा प्रवेश गरेको फिल्म क्युएफएक्स चेनको सामाखुसीस्थित सिटी स्क्वायर मलमा नियमित प्रदर्शन हुँदै आएको छ ।
फिल्मले एकसय दिन मनाउँदै गर्दा निर्माता प्रेमकुमार श्रेष्ठले दर्शकलाई सहुलियतमा देखाउने तयारी गरेका छन् । उनले अब दर्शकलाई एकसय रुपैयाँमै फिल्म हेर्ने सहुलियत दिन लागेको बताए । ‘दर्शक स्वतःस्फूर्त रूपमा निरन्तर आइरहनु भएको छ । तर, सय दिन पुग्न लागेको समयमा क्युएफएक्सले सहुलियतमा फिल्म देखाउने भनेको छ । यसमा हामीले पनि समर्थन गरेका छौँ’ उनले थपे ।
फिल्ममा एन्जिलाको अलवा दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायतको अभिनय छ ।





