पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–५, पञ्चमी बजार नजिकै निर्माणाधीन सेप्टिक ट्याङ्कीमा काम गर्ने क्रममा चार जना श्रमिक बेहोस भएका छन्। तीमध्ये एक जनाको उपचारका क्रममा भएको छ ।
मृत्यु हुनेमा रतन चेम्जोङ, ३५ वर्ष रहेका छन् । उनलाई इलाम अस्पताल पुर्याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए भने दुई जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेहरुमा भिष्म चेम्जोङ, २४ वर्ष बिरु चेम्जोङ, ४० वर्ष रहेका छन् । घटनामा सामान्य अवस्थामा सन्तोष चेम्जोङ, ३० वर्ष रहेका छन् ।
बुधवार दिउँसो ट्याङ्कीभित्र सटिङ खोल्ने क्रममा अक्सिजनको कमी भएका कारण उनीहरू बेहोस भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
चारै जना फाल्गुनन्द–५ का स्थानीय निवासी हुन्। उनीहरू घुर्बिसे पञ्चमी बचत तथा ऋण सहकारी संस्थाको निर्माणाधीन भवनमा काम गरिरहेका थिए।
घटनापछि स्थानीयवासी र प्रहरीको सहकार्यमा स्काभेटर प्रयोग गरी ट्याङ्की फोरेर चारै जनाको उद्दार गरिएको थियो। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।





