काठमाडौं । विशेष अदालतले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई भ्रष्टाचार मुद्दामा २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यो निर्णय गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत वसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण ठेक्कामा अनियमितता भएको आरोपमा परियारसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर हुँदा परियारलाई अदालतमा उपस्थित गराइएको थिएन । उनी बुधवार अदालतमा उपस्थित भएपछि बयान र थुनछेक बहस भएको थियो ।
परियारविरुद्ध ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो माग गरिएको छ । उनी हाल सूचना तथा प्रशारण विभागका महानिर्देशक थिए, तर भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बनमा परेका छन् । यसैगरी, महानगरपालिकाका निर्देशकहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।
निर्देशकद्वय वसन्त आचार्य र नमराज ढकाललाई पनि विशेष अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । अख्तियारले कल्पवृक्ष-कोहिनूर जेभी र समानान्तर निर्माण सेवा प्रालिसहितले ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ हानिनोक्सानी गरेको दाबी गरेको छ । प्रतिवादीहरूले पदको दुरुपयोग गरी काठमाडौँ महानगरपालिकाको सम्पत्तिमा बदनियतपूर्वक हानि पुर्याएको अख्तियारको ठहर छ ।




