
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीले आइतबार विश्वविद्यालयका उपकुलपति दीपक अर्यालको कार्यालय घेराउ गर्दै पठनपाठन सुचारु गर्न माग गरेका छन्।
१० दिनदेखि कक्षाकोठा बन्द भई पढाइ ठप्प भएपछि विद्यार्थीहरू ‘कक्षाको ढोका खोलाइदेऊ सरकार !’, ‘क्लास कहिले हुन्छ ?’, ‘परीक्षा कहिले हुन्छ ?’ जस्ता नारासहित प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका थिए।
विद्यार्थीहरूको एक मात्र माग छ, क्याम्पसमा पठनपाठन तत्काल सुरु गराउनुपर्ने। शिक्षण र अध्ययनको सहज वातावरण सृजना गर्ने जिम्मेवारी विश्वविद्यालय प्रशासनकै भए पनि विद्यार्थीहरूलाई सडकमा उत्रिनुपर्ने बाध्यता विडम्बनापूर्ण रहेको उनीहरूको भनाइ छ।




