काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुमा नयाँ नेतृत्व चयनका लागि जारी अधिवेशनमा १० बजेबाट मतदान सुरु भएको छ । निर्वाचन समितिका अनुसार ४३ वटा इलेकट्रोनिक भोटिङ मेसिनबाट मतदान हुँदैछ ।

समितिले आज बेलुका ४ बजेसम्म लाइन बस्नेलाई मात्र मतदान गर्न दिने जनाएको छ । मतदान सकिएको १ घण्टापछि मतगणना सुरु हुने र आज राती नै मतपरिणाम सार्वजनिक गर्ने तयारी समितिले गरेको छ ।
२४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि प्रकाश पौडेल र डा सुजन कडरियाले उम्मेदवारी दिएका छन् । एकजना खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, गणेशबहादुर शाहीले उम्मेदवारी दिएका छन् ।
यस्तै, एक महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईले उम्मेदवारी दिएका छन् । महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलले उम्मेदवारी दिएका छन् । महाधिवेशनमा करिब एक हजार ५४३ जना प्रतिनिधिले मतदान गर्नेछन् । पहिलोपटक ३२ वर्ष उमेर हदअनुसार निर्वाचन हुँदैछ ।




