एकलौटी सरकार गठनको जनादेश पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले परम्परागत राजनीतिक भागबन्डाभन्दा फरक शैलीमा सरकार गठन गर्ने तयारी थालेको छ। भावी प्रधानमन्त्रीका रूपमा हेरिएका बालेन शाहले सांसदभन्दा बाहिरका विज्ञ, प्राविधिक र दक्ष व्यक्तिलाई मन्त्री बनाउने विषयमा पार्टीभित्र गम्भीर छलफल अघि बढाएका छन्। उद्देश्य राजनीतिक भागबन्डा होइन, काम गर्न सक्ने दक्ष टिम बनाएर नतिजामुखी सरकार चलाउने भन्ने बालेनको ईक्छा रहेको हो।
तर नेपालको संविधान २०७२ अनुसार गैरसांसद मन्त्री बने पनि ६ महिनाभन्दा बढी पदमा रहन नपाउने व्यवस्था छ। त्यसैले यस्तो ‘विज्ञ क्याबिनेट’लाई दीर्घकालीन बनाउने हो भने संविधान संशोधन अनिवार्य हुने अवस्था छ।
बालेन यो संवैधानिक सीमाबारे पूर्ण रूपमा जानकार र सजग छन्। त्यसैले उनले ६ महिनाभित्र संविधान संशोधन सम्भव हुन्छ कि हुँदैन, त्यसका लागि आवश्यक राजनीतिक समर्थन जुटाउन सकिन्छ कि सकिँदैन र त्यसक्रममा आउन सक्ने जोखिम के हुन् भन्ने विषयमा समेत पार्टीभित्र रणनीतिक छलफल गरिरहेका छन्। रास्वपाको चुनावी वाचापत्रमै पनि दक्षता र विशेषज्ञतामा आधारित मन्त्री बनाउने प्रतिबद्धता उल्लेख गरिएको थियो।





