वीरगंज । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि शिक्षा र सीपलाई अनिवार्य माध्यमको रूपमा उल्लेख गरेका छन् । वीरगंजमा आयोजित “२० औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस” सम्बन्धी विशेष गोष्ठीलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले भने, “शिक्षा र सीपको अभावले समाजमा अझै पनि छुवाछुत जस्ता विकृतिहरू कायम छन् । जब मानिसमा ज्ञान र सिपको विकास हुन्छ, तब उनीहरू विवेकशील बन्छन् र जातीय विभेद स्वतः हट्छ ।”

पाण्डेकाअनुसार २० वर्षअघि नेपालमा कानुनी रूपमा जातीय भेदभाव र छुवाछुतको अन्त्य गरिए पनि व्यवहारिक रूपमै अझै पनि समाजमा यो समस्या कायम रहेको छ । उनले त्यस्ता व्यवहारहरू अन्त्य गर्नका लागि कानुनी उपचार र सामाजिक सचेतनाको संयोजन आवश्यक भएको धारणा राखे ।

उनको भनाइमा, “कानुनले छुवाछुतलाई अपराध मानेको छ । यस्तो कार्य गर्नेहरूलाई कानुनी प्रक्रियामार्फत सजायको भागीदार बनाउनु पर्छ । हामी सबैको जिम्मेवारी हो, समानता र सम्मानपूर्ण जीवनको सुनिश्चितता गर्न ।”

कार्यक्रममा उनले नेपालमा विद्यमान दलित समुदायका समस्याहरू मात्र नभई राजनैतिक दृष्टिकोणसमेत प्रस्तुत गरे । राजतन्त्रको पुनस्र्थापनाको माग गर्दै हाल भइरहेका आन्दोलनहरूप्रति प्रतिक्रिया दिँदै पाण्डेले भने, “राजतन्त्र सकिएको प्रणाली हो, त्यो अब फर्कन सक्दैन । राजावादीहरू अहिले पनि संगठनात्मक रुपमा सक्रिय देखिए पनि तिनीहरूको आन्दोलन सफल हुने कुनै सम्भावना छैन ।”

उनले वर्तमान लोकतान्त्रिक प्रणालीमा विश्वास राख्न आग्रह गर्दै चुनौतीका रूपमा भने, “२०८४ को आम निर्वाचनमा राजावादीहरूले सहभागी भएर दुई तिहाई बहुमत ल्याएर देखाऊन् । त्यतिबेला जनताको निर्णय स्पष्ट हुनेछ ।”

उक्त कार्यक्रम नेकपा (एकीकृत समाजवादी) पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सचिव तथा दलित मुक्ति संगठनका इन्चार्ज गणेश वि.क, केन्द्रीय सदस्यहरू रामचन्द्र साह, मनोज चौधरी, लेखा समिति सदस्य किशोरी कुशवाहा, समाजवादी प्रेस संगठन नेपालका सचिव एवं मधेस प्रदेशका ईन्चार्ज बृजालाल पासवान, दलित महिला अधिकारकर्मी नीला राम, र दलित मुक्ति संगठन पर्साका अध्यक्ष सुशिल हजारा लगायतको उपस्थिति रहेको थियो ।

वीरगंजस्थित क्लासिक ब्याङ्क्वेटमा सम्पन्न कार्यक्रमको सहजीकरण नेकपा (एकीकृत समाजवादी) पर्साका सचिव गंगा खड्काले गरेका थिए ।

यस कार्यक्रममार्फत दलित समुदायको हक अधिकारका सवालमा आवाज उठाउनुका साथै नेपाली समाजमा व्यवहारिक रूपमा अझै विद्यमान जातीय विभेदको अन्त्यका लागि शिक्षा, सीप विकास, कानुनी उपचार र समाजवादी मूल्यहरूको आवश्यकता रहेको बताएका थिए ।

माधव नेपालविरुद्ध प्रतिशोध साँधेको निष्कर्ष

राज्यले राजनीतिक प्रतिशोध साँध्यो ,अदालतले न्याय दिनेछ: अध्यक्ष नेपाल