काठमाडौं । सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउने भएको छ ।

नेपाल सरकारले यस वर्षदेखि साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’को रूपमा मनाउने निर्णय गरेसँगै, प्रथम राष्ट्रिय कोदो दिवस २०८२ को मूल समारोह भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीमा आयोजना हुने भएको छ। यो संगै देशका विभिन्न भागहरूमा पनि कोदो दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।

‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मूल नारासहित मनाइने यो कार्यक्रममा सरकार, स्थानीय तह, अन्तर्राष्ट्रिय संस्था, किसान समूह र सञ्चार क्षेत्रको संयुक्त सहभागिता रहनेछ ।

कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको हो ।

देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने विभागका महानिर्देशक सन्जेलले जानकारी दिए ।

कृषि विभागले आर्थिक वर्ष २०८१र८२ मा रु ७६ करोड ६३ लाख ८६ हजार बराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको जनाएको छ ।

कृषि मन्त्रालयको तथ्यांक अनुसार, आर्थिक वर्ष २०८०र८१ मा २ लाख २४ हजार ९३५ हेक्टरमा कोदोजन्य बाली खेती भई ३ लाख ७३२ हजार मेट्रिक टन उत्पादन भएको देखिन्छ। तर उत्पादकत्व भने प्रति हेक्टर १।३३ मेट्रिक टन मात्र रहेको छ । यदि सिँचाइ, उन्नत बीउ र प्रविधिको प्रयोगमा जोड दिन सकिएमा उत्पादन र उत्पादकत्वमा उल्लेखनीय वृद्धि गर्न सकिने विज्ञको भनाइ छ ।

दिवसका अवसरका चाँगुनारायण नगरपालिकास्थित ताथलीमा कोदो रोपाइँ तथा कृषक, राष्ट्रिय कृषक समूह महासङ्घ, पत्रकारलगायतका विभिन्न विधामा पुरस्कार तथा कदरपत्र वितरणको कार्यक्रम छ । प्रदेश र स्थानीय तहहरूबाट पनि उक्त अवसरमा विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

कोदो दिवस मूल आयोजक समितिका अध्यक्ष सञ्जेलले रासायनिक मलखाद र विषादीको प्रयोग नगरी वा कम गरेर पनि औसत उत्पादन लिन सकिने बताउँदै हानिकारक हरित ग्यास उत्सर्जन कम गर्नमा सघाउ पुर्याई जलवायु परिवर्तन न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । विभागले दिवसको सबै तयारी पूरा भएको जनाएको छ ।

रैथाने बालीका विज्ञ तथा मन्त्रालयका सहसचिव एवं राष्ट्रिय कोदो दिवस संयोजक डा। रामकृष्ण श्रेष्ठले कोदोलाई खाद्य सुरक्षाको आधार, पोषणको स्रोत र जलवायु परिवर्तन–अनुकूल टिकाउ बालीका रूपमा प्रवर्द्धन गर्न सरकारले राष्ट्रिय दिवसको रूपमा समावेश गर्नु ऐतिहासिक कदम भएको बताए ।

यो दिवस कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ), राष्ट्रिय कृषक समूह महासंघ नेपाल, र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज) को संयुक्त आयोजनामा मनाउन लागिएको हो ।

कोदो का फाईदाहरु

कोदो नेपालको पहाडी जिल्ला वा हल्का चिसो ठाउँमा फल्ने अन्न हो । कोदो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । नेपालमा कोदोको बिभिन्न परिकार हलुवा, डिडो,रोटी आदि बनाएर खाने गरिन्छ । यसमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फास्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्त्व हुन्छन् ।

केही व्यक्ति ‘ग्लुटेन’ प्रति संवेदनशील हुन्छन् । यस्ता व्यक्तिका लागि कोदो राम्रो विकल्प हो ।कोदो खाए शक्ति मिल्छ । यो ऊर्जाको राम्रो स्रोत हो । यसबाहेक तौल घटाउनसमेत कोदो खानु राम्रो मानिन्छ । कोदो खाएको धेरै समयसम्म भोक लाग्दैन, जसले गर्दा तौल नियन्त्रणमा सघाउ पुग्छ ।

मुटुका रोगीहरूका लागि कोदोको रोटी खानु धेरै लाभदायक हुन्छ । यसमा प्रशस्त मात्रामा नियासिन हुन्छ, जसले शरीरमा कोलेस्ट्रोलको स्तर घटाएर मुटु रोगको जोखिम पनि कम गर्छ । यसबाहेक यसमा भएको पोटेसियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण राख्न सघाउँछ ।कोदामा प्रशस्त मात्रामा भएको क्याल्सियमले हाड बलियो बनाउन सहयोग पुर्‍याउँछ । कोदो क्यान्सरबाट बचाउन पनि सहयोगी हुन्छ ।

यसको नियमित सेवनले मधुमेहको खतरासमेत कम हुन्छ ।यसमा आइरनसमेत निकै हुन्छ, जसले गर्दा रगतको कमीले हुने रोगले छुन पाउँदैन । पेटको स्वास्थ्यका लागि कोदोको सेवन धेरै लाभकारी मानिन्छ । कब्जियत र ग्यासको समस्या भएकाहरूले नियमित रुपमा कोदोको रोटी वा ढिडो खाने गरे आराम पाइन्छ ।

भोटेकोशी किनारमा एशियाकै पहिलो र्‍याफ्टिङ स्कुल संचालनको तयारीमा

‘डिप बोरिङ समस्याको समाधान होइन, दिगो समाधानको व्यवस्था गर’