काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । एमाले केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालय बस्ने केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए ।

आजको बैठकमा भदौको २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरू प्रस्तुत हुनेछ ।
आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने महासचिव शंकर पोखरेलले सांगठिनक प्रतिवेदन र उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्दैछन् ।
गत शुक्रबार र शनिबार बसेको पोलिटब्युरो बैठकले सचिवालयका तर्फबाट प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव सुझावसहित पारित गरेको थियो । पोलिटब्युरोले पारित गरेको विधानमा कार्यकारी कमिटीमा ७० वर्षे उमेरहद, लगातार दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा उम्मेदवार बन्ने प्रावधान राखिएको छैन ।
त्यस्तै १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी रहने प्रबन्ध गरिएको छ । केन्द्रीय कमिटीमा यिनै प्रस्ताव प्रस्तुत हुनेछ । एमालेमा पदेनसहित ३५५ जना केन्द्रीय सदस्य छन् ।




