काठमाडौं । सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका माग सम्बोधन गर्न सरकारले वार्ता र संवादमार्फत समाधान खोज्न कार्यदल गठन गरेको छ । सोमबार बिहान गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयमा आन्दोलनरत व्यवसायीहरूसँग छलफल गरी कार्यदल गठन गरेका हुन् ।

गृह मन्त्रालयका अनुसार, कार्यदलको संयोजकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तलाई तोकिएको छ । कार्यदलमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिवहरू र ट्राफिक प्रहरीका उपरीक्षक समावेश छन् ।

यातायात व्यवसायीका तर्फबाट यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरसहित आठ जना कार्यदलमा सहभागी छन् । गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्यलाई कार्यदलको सदस्य–सचिव तोकिएको छ ।

छलफलमा गृहमन्त्री लेखकले व्यवसायीका मागप्रति सरकार गम्भीर रहेको बताउँदै वार्ता र संवादबाट समाधान सम्भव भएको उल्लेख गरे । उनले कतिपय विषयमा प्रदेश सरकारसँग पनि समन्वय आवश्यक रहेकोमा जोड दिए । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले सरकार समस्याको समाधानप्रति सकारात्मक रहेको र बन्दलगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिन व्यवसायीहरूसँग अनुरोध गरिएको बताए ।

कार्यदलका सदस्य–सचिव रवीन्द्र आचार्यले कार्यदलले सोमबारदेखि नै वार्ता र छलफल सुरु गरिसकेको बताएका छन् । छलफलमा मुख्य सचिव एकनारायण अर्याल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

अफगानिस्तानको आगो लोकार्पण

क्यानडामा सगरमाथा दिवस मनाइयो, नेपालको साहसिक पर्यटनबारे चर्चा