विराटनगर । कोरोना संक्रमणबाट इलामकी एक महिलाको ज्यान गएको छ । इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।

उनको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार मृत्यु भएको जनाइएको छ ।

ति महिला झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट रिफर भएर नोबेल शिक्षण अस्पतालमा थप उपचारका लागि आएकी थिइन् । सोमबार अस्पतालमा भर्ना भएकी उनको आज बिहान ६ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

कोरोनाको नयाँ भेरिएन्ट आएपछि नेपालमा मृत्यु भएको यो पहिलो हो । मृतकको शव परिवारले बुझिसकेको प्रहरीले जानकारी दिएको छ । नोबेलमा उपचारका लागि आएकी महिलामा श्वासप्रश्वाससम्बन्धी समस्या रहेको बताइएको छ ।

उनी एक साताभन्दा लामो समयदेखि बिरामी रहेको पाइएको अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिए ।

कोशी प्रदेशको मोरङ, झापा र इलाममा गरी पछिल्लो समय ८ जनामा कोरोना पुष्टि भएको प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।तीमध्ये एक जनाको ज्यान गएको हो । सङ्क्रमितमध्ये झापाका ४ जना र मोरङका २ र इलामका १ जनाको उपचार भइरहेको बताइएको छ ।

हेवाँ खोलामा भाँचिएको मोडुलर ब्रिजः अनुभव बिना काम, निर्देश बिना जडान

अदालतको पछिल्लो आदेश प्रेस स्वतन्त्रतामाथिको नियोजित आक्रमण-समाजवादी प्रेस संगठन