पोखरा । पर्यटकीय राजधानी पोखरा र चीनको हुआङशान शहरबीच भगिनी सम्बन्ध स्थापित भएको छ । काठमाडौंमा बुधबार आयोजित एक औपचारिक कार्यक्रममा दुई शहरबीच भगिनी सम्बन्ध स्थापित गर्ने सम्बन्धि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो ।
युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत चीनको सुन्दर सहर हुआङशान (Huangshan) र पोखरा महानगरबीच आज भगिनी सम्बन्ध (मैत्री सम्बन्ध) कायम गर्ने प्रारम्भिक महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको हो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले चीनको हुआङशान शहरसँग भगिनी सम्बन्ध स्थापित गरिएको जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्,‘आज चीनको हुआङशान शहर र पोखरा महानगरबीच मित्रता (भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धि (प्रारम्भिक) सम्झौतामा हस्ताक्षर भएको छ ।’
यस सम्झौताले पोखरालाई अन्तर्राष्ट्रियस्तरमा अझ प्रख्यात बनाउन तथा नेपाल–चीनबीचको मित्रतालाई थप मजबुत बनाउन योगदान पुर्याउने विश्वास लिइएको छ । सम्झौता अनुसार पर्यटन, संस्कृति, शिक्षा तथा सहरी विकासजस्ता क्षेत्रमा सहकार्य गर्ने सहमति गरिएको छ ।
सम्झौता हस्ताक्षर समारोहमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पोखरा महानगर प्रमुख धनराज आचार्य, आन्हुई प्रान्तका भाइस गर्भनर सुन योङ, नेपालस्थित चिनियाँ राजदूत चेन सोङ, नेपाल सरकारका सचिव राम प्रसाद घिमिरे, नेपाल पर्यटन बोर्डका सिइओ दीपक राज जोशीलगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।





