लेखनाथ सिकारू
काठमाडौं । सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग भन्ने नाराका साथ आज विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । योग दिवस नेपालमा पनि योग अभ्याससहित कार्यक्रमहरु आयोजना गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष जुन २१ का दिन मनाइन्छ ।
संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।
नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।नेपालमा २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो ।
नेपालका अभियानकर्मीहरुले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेपछि नेपाल सरकारले २०७२ साउन २८ गते तत्कालीन शान्ति मन्त्रीको प्रस्तावमा माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए ।

योग के हो ?
योगश्चित्तवृत्तिनिरोधः अर्थात् चित्त र वृत्तिको निरोध नै योग हो । योगको अर्थ जोड्नु हो । योग संस्कृत भाषा ‘युज’ बाट आएको हो जसको अर्थ ईश्वरसँग आत्माको मिलन हो।
योग एक पूर्ण मनुष्य बन्ने जीवन पद्दति हो । सर्वाङ्गीण स्वास्थ्यको विज्ञान हो । योग प्रत्येक मनुष्यको सबै दुःखबाट मुक्तिको साधन भएको जिवन विज्ञानका जीवन विकास विशेषज्ञ एलपि भानु शर्मा भन्नुहुन्छ ।
योग एक विशेष क्रिया हो, योग क्रियाले मानिसको चेतना र शरीरबिचको सम्बन्धलाई जोड्ने काम गर्दछ । मन र मस्तिष्कको सम्बन्धलाई नै योग भनिन्छ । योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ । योग कला पनि हो, विज्ञान पनि हो । यो एक विज्ञान हो, किनकि यसले शरीर र दिमागलाई नियन्त्रण गर्ने व्यावहारिक तरिकाहरू प्रदान गर्दछ।
योगलाई ध्यानको आधार मानिन्छ, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्ययता जस्ता योगका अनेकौँ आयाम छन् । योगलाई सुरुमा व्यास र पछि वाचस्पति मिश्रले व्याख्या गरेका थिए ।
योगको महत्व:
वास्तवमा योग भनेको जोड हो र योगले मानिसको आत्मा, मन, मस्तिष्क र शरीरलाई जोडेर एक स्वच्छ र पवित्र आत्माको रूपमा रूपान्तरण गर्छ । यसको अर्थ नियमित योग गर्नाले व्यक्तिमा मानसिक तनावको अन्त हुने, मनमा आउने विभिन्न नकारात्मक र अनावश्यक कुराहरू नियन्त्रित हुनुका साथै शरीर र मांसपेशी मजबुत हुन्छ । योगमा गरिने विभिन्न आसन, प्राणायाम, ध्यान र आध्यात्मिक चिन्तनले मानिसको आन्तरिक तथा बाह्य क्षमता बलियो हुन पुग्छ । व्यक्ति शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक र आध्यात्मिक दृष्टिकोणले समेत स्वस्थ हुन्छ ।
वास्तवमा अनात्मबाट आत्मालाई छुट्याएर परमात्मासँग जोड्नु नै योग हो भनिन्छ । महर्षि पतञ्जलिको योग दर्शनअनुसार योग त्यो प्रयत्न हो, त्यो साधना वा अभ्यास हो, जसको माध्यमले चित्त र इन्द्रियलाई वशमा राखिन्छ । यसरी चित्तमा आउने विकार रोक्नु नै योग हो भनिन्छ ।
शरीर, इन्द्रिय, मन, बुद्धि र अहंकारमाथि विजय प्राप्त गरेपछि आत्माको शुद्ध स्वरुप पाउन सकिन्छ र त्यही शुद्ध स्वरुप प्राप्त गर्ने माध्यम नै योग हो । वेद, उपनिषद्, स्मृति र पुराणमा योगको उल्लेख पाइनुले योग प्राचीन ऋषिमुनिहरूको अनवरत तपस्या र साधनाबाट विकसित भएको विद्या हो भन्न सकिन्छ । त्यस्तै बुद्ध धर्मका पालित्रिपिटकहरूमा र प्राचीन संस्कृत ग्रन्थहरूमा पनि योगका चर्चा भएका छन् ।
गोरखनाथको नाथ सम्प्रदायमा पनि योगको यति आदर गरिन्छ कि त्यस सम्प्रदायलाई योगी सम्प्रदाय भनिन्छ । यसरी योग हरेक धर्म, समाज र सम्प्रदायमा लोकप्रिय छ ।
योग दर्शनमा धर्मकर्मका लागि यज्ञ, यज्ञादि र पूजापाठको कुनै गुञ्जायस छैन । केवल यस दर्शनमा शारीरिक तथा मानसिक शक्तिको उचित प्रयोग गर्ने प्रेरणा पाइन्छ । सबै किसिमका धर्म तथा सम्प्रदायले यसको अभ्यास गरेका हुनाले योगलाई सार्वभौम अभ्यास पनि भन्ने गरिन्छ ।
योग दर्शनमा आसन, यौगिक क्रिया, प्राणायाम तथा अन्य व्यायामहरूको माध्यमबाट आध्यात्मिक, मानसिक, संवेगात्मक तथा शारीरिक उपलब्धि पाउन सकिन्छ भन्ने कुरा दर्शाइएको छ ।
श्रीमद् भागवत गीतामा भगवान श्रीकृष्णले योगका तीन प्रकार बताएका छन् । ती हुन्, कर्मयोग, ज्ञानयोग र भक्तियोग ।
कर्मयोग स् गीताअनुसार कसैले भक्तिपूर्वक गरेको कर्मलाई कर्मयोग भनिन्छ । कर्मयोगमा सर्वप्रथम काम त्याग्नु भनिएको पाइन्छ । कर्म गर्नु नै पूजा हो । आराधना हो । ‘निष्काम कर्म’ नै गीताको मुख्य एकमात्र सार हो ।
ज्ञानयोग स् गीताअनुसार शिक्षाद्वारा आफ्नो सम्पूर्ण जगतमा ज्ञानको प्रकाश फैलाएर उनीहरूलाई कामरूपी भवबन्धनबाट बचाउनुलाई ज्ञानयोग भनिन्छ । ज्ञानभन्दा शुद्ध चिज संसारमा केही छैन । आत्मज्ञानले व्यक्तिलाई समाधिसम्मको यात्रा गराउँछ ।
भक्ति योग स् भक्ति योगको विषयमा गीता भनिएको छ कि यदि कोही व्यक्ति भगवानको सान्निध्य चाहन्छ भने उसले भगवानको भक्ति गर्नुपर्दछ । यदि कोही योगीमध्ये जसले आफ्नो अन्तःकरणमा निरन्तर भगवानको चिन्तन गर्दछ, उही योगी परमसिद्ध भनिन्छन् ।
योग दर्शनले आठवटा मार्गहरू ९अष्टाङ्ग योगमार्ग० उल्लेख गरेको छ । यी आठ अङ्ग सबै धर्मको सार मानिन्छन् ।
१. यम: हिंसा, चोरी, लोभ आदि नगर्नु अर्थात् अहिंसा, सत्य, अस्तेय, ब्रह्मचार्य र अपरिग्रहका नियम पालना गर्नु ।
२. नियम: पाँच नियमहरूको पालना गर्नु जस्तै– शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वरप्रति विश्वास गर्नु ।
̵३ . आसन: मन एकाग्र गरी सुखासनमा बसी आनन्दको अनुभूति गर्नु ।
४. प्राणायाम: श्वासप्रश्वासलाई उचित परिचालन गरी यसलाई नियन्त्रण गरी मनलाई एकाग्र राख्नु ।
̵५. प्रत्याहार: इन्द्रियहरूको कुप्रभाव मनमा पर्न नदिनु ।
६. धारण: अन्तरनिहित वस्तुको पहिचानमा मन लगाउनु ।
७. ध्यान: निश्चित विषयमा एकाग्रतापूर्वक सोचविचार गर्नु ।
८. समाधि: सम्पूर्ण चेतनालाई खिचेर आत्मामा लिन गराउनु । उल्लेखित यस्ता उपायहरूद्वारा मुक्ति मिल्छ भन्नु योगदर्शनको मुख्य मर्म हो ।

योगबाट हुने फाइदा :
̵ शरीर एक मन्दिर हो, यसलाई शुद्ध र सफा राख्न पवित्र आत्मा हुनुपर्छ, जुन योगबाट मात्र प्राप्त गर्न सकिन्छ ।
̵ टाउको र शरीर उठाइ शारीरिक अभ्यास गर्नु मात्र योग होइन, मनलाई समेत आनन्दित राख्न सक्नु नै योग हो ।
– शरीरको अँध्यारो कुनामा रहेका अपवित्र सोंच र वस्तुलाई चेतनारूपी उज्यालो छर्कन सक्नु नै योगको विशेषता हो ।
̵ योग अभ्याससँगै गरिने प्राणायाम विना योगको उद्देश्य पूरा हुनै सक्दैन । जुन प्राणायामले हाम्रो सम्पूर्ण शरीर र आत्मालाई सक्रिय तुल्याउँछ ।
̵ चिन्ता र तनाव हटाउने सबैभन्दा उपयुक्त र चातुर्य बाटो नै योग हो ।
̵ योगले जति बढी फाइदा आत्मालाई पुर्याउँछ, त्यति फाइदा शरीरलाई दिनै सक्दैन । त्यसकारण आत्माको महत्वपूर्ण खुराक योग हो ।
योग अभ्यास गर्दा बिहान अमृत समय ४-५ बजेभित्रै उठी हल्का मनतातो २-३ गिलास पानी पिएर, दिसा पिसाबबाट निवृत्त भएपछि, खाली पेटमा, हल्का वस्त्र धारण गरेर, राम्रो योगम्याटमा र खुला ठाउँमा बसेर मात्र गर्नुपर्छ ।
योग अभ्यास गर्दा जानेको व्यक्तिबाट सिकेर वा समूहमा रहेर आफ्नो शरीरको अवस्थालाई हेरेर सकेको मात्रामा गर्नुपर्छ । यसरी नियमित रूपमा योग अभ्यास गर्नाले शरीरमा लचकता, चपलता, सन्तुलन, तनाव नियन्त्रण लगायत स्वास्थ्य लाभ प्राप्त गर्न सकिन्छ । साथै आफ्ना परिवारका साथमा योग अभ्यास गर्दा थप सन्तुष्टि मिल्नसक्ने हुँदा सकभर परिवारका सदस्यहरू सहित योग गर्न सकिन्छ भन्ने मान्यता छ ।





