भद्रपुर । झापाको कचनकवल गाउँपालिकाको छैटौं गाउँ सभाले चालु आर्थिक वर्ष ०७७र७८ का लागि ५३ करोड ८९ लाख ६० हजार एक सय रूपैयाको बजेट पारित गरेको छ ।
बुधवार बसेको परिषद सदस्यहरूको बन्द सत्रको बहुमतले असार १० गतेबाट सुरू भएको गाउँ सभा अन्त्य गर्दै बजेट पारित गरेको हो । बजेटलाई उपाध्यक्ष निमसरी राजवंशीले लिखित प्रतिवेदन मार्फत सार्वजानिक गरेकी थिइन् ।
उपाध्यक्ष राजवंशीले सार्वजानिक गरेको प्रतिवेदन अनुसार पूजीँगत तर्फ २५ करोड ६६ लाख १८ हजार सहित ५३ करोड ८९ लाख ६० हजार एक सय रूपैयाको विनियोजन गरिएको छ ।
बजेट विनियोजनमा असन्तुष्टि
बजेट पारित भएपनि विनियोजित बजेट समानुपातिक नभएको भन्दै ४ वटा वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले गाउँसभामा आपत्ति जनाएका थिए ।
उनीहरुले वडाका लागि विनियोजन हुने ६० लाख बजेट १० लाखमा झारिएको भन्दै सभा बहिस्कार गरेका थिए ।
गाउँ सभा बहिस्कार गर्ने वडाध्यक्षहरूमा ४ नम्वरका वडाध्यक्ष प्रमानन्दसिंह रावजंशी, ६ नम्वर वडाध्यक्ष कुलबहादुर कार्की र ७ नम्बरका वडाध्यक्ष भरतकुमार राजवंशी रहेका छन् । यस्तै नेपाली कांग्रेस र नेकपाबाट विजयी वडा सदस्यहरूले वडाध्यक्षहरू थिए ।
तर गाउँपालिका अध्यक्ष अञ्जार आलमले भने अघिल्लो वर्ष बहुवर्षीय र दीर्घकालिन आयोजना अन्तर्गत भएको १० करोड खर्च वापतको रकम तिनुपर्ने बाध्यताले वडामा बजेट कटौती भएको बताएका छन् । प्रदेश सरकार, तथा संघीय सरकारले दिने भनेको अनुदान घटेपछि सेही अनुदानका आशमा निर्माण गरिएका आयोजनाका रकम यस वर्ष तिनु पर्ने बाध्यता रहेकाले वडाको बजेट घटाइएको हो ।