मञ्चका महासचिव डा. श्रीकान्त खतिवडाका अनुसार अध्यक्ष गणेश विश्वकर्माको अध्यक्षतामा सम्पन्न बैठकमा १३ जना केन्द्रीय सदस्यको सहभागिता रहेको थियो। बैठकले आगामी डिसेम्बर १० मा चितवनको नारायणगढमा नवौँ राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गर्दै आवश्यक तयारी अघि बढाउन सचिवालयलाई जिम्मेवारी दिएको छ। सम्मेलनको व्यवस्थापनका लागि केन्द्रीय सदस्य डा. याम बहादुर विकको संयोजकत्वमा चितवन जिल्ला कार्यसमितिको सहकार्यमा स्थानीय आयोजक समिति गठन गर्ने निर्णयसमेत गरिएको छ।
त्यसैगरी, श्रावण १३ गतेको स्थापना दिवस देशभरका प्रदेश तथा जिल्ला समितिहरूले आफ्नै स्थानमा मनाउने निर्णय भएको छ। स्थापना दिवसको अवसरमा पूर्व तथा वर्तमान पदाधिकारी, सदस्य र नागरिक समाजका प्रतिनिधिहरूको सहभागितामा “संविधान कार्यान्वयनको दश वर्ष अवसर र चुनौती” विषयमा अन्तरक्रिया, छलफल तथा गोष्ठी आयोजना गरिने सर्कुलरमा उल्लेख छ।
मञ्चले उक्त छलफलमार्फत संविधान कार्यान्वयनको अवस्था, लोकतान्त्रिक संस्थाको विकास, कानुनी शासन, मानव अधिकार, संवैधानिक सर्वोच्चता तथा राजनीतिक अभ्यासका उपलब्धि र चुनौतीबारे व्यापक बहस गर्ने उद्देश्य राखेको जनाएको छ। छलफलबाट प्राप्त निष्कर्षलाई आगामी राष्ट्रिय सम्मेलनका लागि मार्गदर्शनका रूपमा उपयोग गरिने विश्वास पनि मञ्चले व्यक्त गरेको छ।
महासचिव डा. खतिवडाद्वारा हस्ताक्षरित सर्कुलर सबै प्रदेश र जिल्ला समितिलाई कार्यान्वयनका लागि पठाइएको छ।







छैन कमेन्ट