काठमाडौं । स्वभाविक रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई राजावादी पार्टी नै भनिन्छ । हुन पनि यो पार्टीमा पूर्वपञ्चहरुको सहभागीता धेरै छ । पूर्व पञ्चहरुको संगठानात्मक अवस्था त्यति बलियो नभए पनि पटकपटक टुटफुट हुँदै आएको छ ।
पछिल्लोपटक राष्ट्रिय प्रजातन्त्र पार्टीले किरण गिरीलाई साधारण केन्द्रिय सदस्यबाट हटाएको छ । गिरीले पार्टी हित विपरित लेखहरु प्रकाशन गर्न थालेपछि केन्द्रिय सदस्यबाट हटाएको हो ।
शनिबार पार्टी कार्यालय चावहिलमा बसेको अध्यक्षहरुको बैठकले निर्वाचन आयोगमा प्रस्ताव गरिएको केन्द्रिय सदस्यबाट समेत नाम हटाउने निर्णय गरेको हो ।
शनिबार ११ बजेपछि अध्यक्षहरु पशुपति शमसेर राणा, कमल थापा र डा। प्रकाशचन्द्र लोहनी सहभागी बैठकले गिरीले पार्टीको हित विपरित कार्य गरेको ठहर गर्दै प्रस्तावित केन्द्रिय सदस्यबाट हटाउने निर्णय गरेको हो ।
गिरीले केही दिन पहिले पार्टीको बदनाम हुनेगरी लेख प्रकाशन गरेपछि बिहीबार सचिवालय प्रमुख धुबबहादुर प्रधान र भाष्कर भद्राले २४ घण्टे अल्टिमेटम सहितको स्पष्टिकरण सोधेका थिए । तर, गिरीले सचिवालयलाई स्पष्टिकरण दिनुपर्नेमा सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि शुक्रबार सचिवालयले शुक्रबार ५ बजे नै कारवाहीका लागि सिफारिस गरेको थियो ।
सचिवालयको सिफारीसबमोजिम शनिबार ११ बजे अध्यक्षहरु सहितको बैठकले प्रस्तावित केन्द्रिय सदस्यबाट हटाउने निर्णय गरेको हो । सचिवालय स्रोतका अनुसार साधारण सदस्यताबाट समेत हटाउने विषयमा छलफल भएको थियो । तर अन्तिम समयमा गिरीलाई प्रस्तावित केन्द्रिय सदस्यबाट हटाउने निर्णय गरेको हो ।
गिरी पूर्वप्रधानमन्त्री स्व। सुर्यबहादुर थापाका विश्वास पात्र थिए । थापाकै कारण थापापुत्र सुनीलबहादुर थापाको पनि विश्वास पात्र हुन् । राप्रपा एकतापछि फरक विचार प्रस्तुत गर्दै आएका थापा भने कोरोनाको कहरपछि ७७ जिल्ला पुग्ने र आउँदो महाधिवेसनमा आफुलाई अध्यक्षको रुपमा प्रस्तुत गर्नेगरी लागिपरेका छन् ।
यस्तो छ सचिवालयले गिरीलाई सोधेको स्पष्टिकरण
केहि समयदेखि यहाँले निरन्तर पछिल्लोपल्ट ‘पञ्चायतले दिएको गणतन्त्रले लियो’ शिर्षकको अभिव्यक्तिले राप्रपाको आधार स्तम्भहरुमाथि प्रहार हुनुको साथै पार्टी एकीकरणको आधारपत्र प्रतिकुल देखिएकोले तपाईलाई किन अनुशासन सम्बन्धि कार्वाहि नगर्ने ? २४ घन्टाभित्र आफैं वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण दिन सुचित गरिन्छ ।
यस्तो छ गिरीको स्पष्टीकरण
मेरो स्पष्टीकरण केबल संबिधान र परिवर्तन मात्र ।
रास्ट्रिय प्रजातन्त्र पार्टी ।
काठमाडौं, नेपाल ।
मेरो राजनीतिको आदर्श सदा मुलुक, जनता र जनभावनाको कदर र सम्मान हो । राप्रपाका संस्थापक अध्यक्ष एबं पुर्ब प्रधानमन्त्री स्व। सुर्यबहादुर थापाको अडान, दृष्टिकोण र प्रतिबद्धतालाई मैले राजनीतिक निष्ठा र आदर्श मान्दै आए । म राप्रपाको विभिन्न तह जिम्मेवारी मा रहदा सदै संबिधान तथा परिवर्तन प्रति इमान्दार र जिम्मेवार रहदै आएको छु ।
नेपाल को संबिधान अनुसार निर्बाचन आयोगमा दर्ता भएका र हुने वा एकीकरण समायोजन हुने सबै राजनीतिक दल संबिधानको धारा ९४ प्रती प्रतिबद्ध हुनु पर्ने संबैधानिक प्राबधान छ । एकीकरण घोषणा भएको तर निर्बाचन आयोगमा दल दर्ता कार्य संपन्न भै नसकेको संक्रमण कालमा रहेको राप्रपा को अवस्था पनि त्यही हो ।
राप्रपाले बाहिरी कन्जम्सनको लागि अनेकौं एजेन्डा अगाडि सारेता पनि त्यो दल दर्ताको क्रममा निर्बाचन आयोगले संबिधान र कानुन प्रतिकुल कुरा हरु हटाएर मात्र दल दर्ता प्रक्रिया संपन्न गर्ने र गरेको नजिर समेत हामी सामुन्ने छ नै ।
राजनीतिको यथार्थ धरातल लाई बिर्सिएर म राजनीतिमा दोहोरो चरीत्र निभाउन सक्दिन , त्यो मेरो आदर्श ,मूल्य र मान्यता भित्र पर्दैन । म सत्तामा रहुन्जेल गणतन्त्र बादी सत्ता बाहिर आएपछि अरुबादी हुन सक्दिन र होइन। म संसद र सत्तामा रहदा पदलोलुपताको लागि रास्ट्रपति उम्मेदवार को समर्थक बस्ने अनि बाहिर आउने बित्तीय रास्ट्रपति प्रणालीकै विरुद्धका कुरा लाई एजेन्डा बनाउदै जनता र कार्यकर्ता लाई भ्रम छर्ने दोहोरो चरीत्र निर्बाह गर्न सक्दिन र गरिन । म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान हस्ताक्षर गर्दै अहिले त्यसको प्रतिकुल जान सक्दिन र गइन । म हिजो गणतन्त्रमा मतदान गर्ने आज अरु बादी बनेर दोहोरो चरीत्र निर्बाह गर्ने ब्यक्ति बन्न सक्दिन र सकिन । यहि सर्बसत्ताबादी र दोहोरो चरीत्रका कारण आजा पार्टी रास्ट्रीय राजनीतिमा सुन्यमा बिलाउदै छ । सुन्यमा शून्य सरि बिलाउने र जनताको चाहना एबं परिवर्तन विरुद्ध जाने यो अभियान लाई मेरो साथ र सहयोग रहन सक्दैन । यसको मतलब अब पार्टी भित्र र बाहिर राजनीतिक तथा कानुनी रुपमा बिमतिको यो लडाइ लाई अगाडि बढाउने छु । संबिधान ,कानुन र निर्बाचन आयोग ले केहिदिन भित्रै सर्बसत्ताबादि दोहोरो चरित्रको यो कालो बादल हटाउने छ । यो देशमा संबिधान र कानुन भन्दा माथी कोहि छैन ।
मेरो ३० बर्से राजनीतिक यात्रा र अनुभव लाई संगालेर
थप नयाँ उर्जा र हौसलाका साथ संबिधान, परिवर्तन र जनता प्रति इमानदार हुँदै अझ बढी ससक्त एबं प्रभाबकारी ढंगले निरन्तर सक्रिय रहने छु ।
नेपालको संबिधान र जनताको परिबर्तन नै मेरो निष्ठा हो , आदर्श हो र मान्यता अनि पहिचान हो । यो मेरो निष्ठा, आदर्श, मान्यता र पहिचानविरुद्ध मेरो कोहि कसैसँग संझौता हुन सक्दैन । कसैले आफुलाई संबिधान र कानुन भन्दा माथी संझेको छ भने त्यो ठूलो भ्रम हुनेछ ।
केन्द्रीय सदस्य, किरण गिरी राप्रपा ।
बोधार्थ एबं कार्यार्थ
१. निर्बाचन आयोग
काठमाडौं, नेपाल
राप्रपाको ०७६ जेष्ठ २९ को केस मनोनयन पत्र र १ श्रावणको स्पष्टीकरण पत्रको छायाप्रती
संलग्न छ ।