काठमाण्डौं। आज कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईदै छ ।
नेकपा (एकीकृत समाजवादी) सहित नेपाल कम्युनिस्ट पार्टी (एमाले) , नेकपा (माओवादी केन्द्र),नेकपा (माले) लगायत विभिन्न समूहमा छरिएका कम्युनिस्ट पार्टीहरूले आज विभिन्न कार्यक्रम आयोजना गरी पुष्पलाल स्मृति दिवस मनाउन लागेका हुन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मातहतका सबै जिल्ला कमिटीलाई कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन समेत दिएको छ।
पार्टीले विदेशमा रहेका जनवर्गीय संगठनलाई पनि स्मृति दिवस मनाउन आग्रह गरेको छ। पार्टी निकट पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुर नगरपालिका-४ चम्पादेवीस्थित पुष्पलाल उद्यानमा श्रद्धाञ्जलिसभा, अन्तरक्रिया, ग्रन्थ विमोचन लगायत कार्यक्रम गर्ने जनाएको छ।
प्रतिष्ठानका अध्यक्ष र कार्यक्रममा नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले विश्व कम्युनिष्ट आन्दोलनमा नेपाली कम्युनिष्ट आन्दोलनको अवस्था, कार्यदिशा र चुनौतीबारे प्रस्तुति दिनेछन्।
कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन वामपन्थी शक्तिबीचको ध्रुवीकरण, कम्युनिष्ट नेतृत्वमा आएको वैचारिक विचलन, मुलुकको वर्तमान राजनीतिक अवस्था, कम्युनिष्ट पार्टीका भूमिकाबारे समीक्षा गरिने पार्टीले जनाएको छ।
दिवसका अवसरमा सरसफाइ, वृक्षरोपण, रक्तदान र अन्तरक्रिया गरिने पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए। विसं २००६ मा भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्दा पुष्पलालले समुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राखेका थिए।
विसं १९८१ असारमा रामेछापको भङ्गेरीमा जन्मेका पुष्पलाल वैचारिक रूपले सशक्त र प्रेरणादायी नेताका रूपमा परिचित छन्। उनको निधन २०३५ सालमा भएको थियो।





