काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा हुने सवारी दुर्घटना, त्यसबाट हुने मानवीय क्षति र ट्राफिक व्यवस्थापनको चुनौती दिनप्रतिदिन जटिल बन्दै गएको छ।
बढ्दो सवारी चाप, तीव्र गति, मादक तथा लागुऔषध सेवन, सडक अनुशासनको कमी र सीमित ट्राफिक जनशक्तिका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको हो।
तर काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेका लागि ट्राफिक प्रहरीको सफलता सडकमा बढीभन्दा बढी जरिवाना उठाउनु नभई दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घटाउनु हो।
“एउटा चालक वा यात्रु घाइते भयो, कसैको हातखुट्टा भाँचियो वा कसैको ज्यान गयो भने हामी कसरी दैनिक दुर्घटना भएको र बढेको हेर्न सक्छौँ ? हाम्रो काम नागरिकको सुरक्षा गर्नु, क्षति कम गर्नु र दुर्घटना न्यूनीकरण गर्नु हो,” प्रमुख काफ्लेले भने।
उनका अनुसार ट्राफिक प्रहरीको मुख्य उद्देश्य अघिल्लो महिनाको तुलनामा अर्को महिनामा सडक दुर्घटना र मानवीय क्षति कम भएको रेकर्ड कायम गर्नु हो।
“अघिल्लो महिनाभन्दा यो महिना कम क्षतिको रेकर्ड राख्न सक्नु नै मेरो सफलता हो,” काफ्लेले भने। ‘ट्राफिक प्रहरी राजस्व उठाउन बसेको होइन’
ट्राफिक प्रहरीले सडकमा चेकजाँच गर्दा जरिवाना असुल्ने गरेको भन्दै आलोचना हुने गरेको छ। तर प्रमुख काफ्ले भने ट्राफिक प्रहरीको उद्देश्य राजस्व उठाउनु नभएको स्पष्ट पार्छन्।
“गलत सूचना प्रवाह भएका कारण ट्राफिक प्रहरीले राजस्व उठायो भन्ने भ्रम परेको छ। होइन, हाम्रो काम राजस्व उठाउने होइन। राजस्व त सरकारले उठाउँछ,” उनले भने।
उनका अनुसार सडक नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्नु ट्राफिक प्रहरीको कानुनी दायित्व हो। नियम उल्लङ्घन गरेबापत तिराइने जरिवाना सरकारी कानुनमा आधारित हुने भएकाले त्यसलाई ट्राफिक प्रहरीको आम्दानी वा स्वार्थसँग जोड्न नमिल्ने उनको भनाइ छ।
“हाम्रो उद्देश्य भनेको सडकमा नागरिकले अनाहकमा ज्यान गुमाउन नपरोस्, भएका घटनालाई रोक्नु, नागरिकलाई घाइते हुनबाट बचाउनु र सडक प्रयोगकर्तालाई सडक नियमको पालना गराउनु हो,” काफ्लेले भने।
‘जरिवाना कारबाही होइन, सचेत गराउने माध्यम पनि हो’
प्रमुख काफ्लेका अनुसार ट्राफिक प्रहरीको जिम्मेवारी दुईवटा महत्वपूर्ण पक्षमा केन्द्रित छ– सडक दुर्घटना न्यूनीकरण र सडक नियम पालना गराउनु।
सडक नियम पालना नगर्ने सवारी साधन तथा चालकलाई कानुनअनुसार कारबाही गर्नु त्यसैको एउटा हिस्सा हो। जरिवाना तिराउनुको उद्देश्य चालकलाई आर्थिक भार पार्नु मात्र नभई आगामी दिनमा त्यही गल्ती दोहोरिन नदिन सचेत गराउनु रहेको उनले बताए।
“सवारी नियम उल्लङ्घन गर्दा जरिवाना तिराउने अन्तर्राष्ट्रिय मान्यता पनि हो। यो नेपालमा मात्र भएको होइन,” उनले भने।
उनका अनुसार ट्राफिक प्रहरीमाथि ‘सडकमा बसेर सरकारका लागि राजस्व उठाउने’ आरोप लाग्ने गरेको भए पनि त्यसमा ट्राफिक प्रहरीको कुनै स्वार्थ हुँदैन।
“प्रहरी नियमावली २०७१ मा ट्राफिक प्रहरीको काम, कर्तव्य र अधिकार स्पष्ट रूपमा उल्लेख गरिएको छ। हाम्रो काम जरिवाना उठाउने होइन, सडक दुर्घटना न्यूनीकरण गर्ने, घाइतेको संख्या कम गर्ने र मृत्यु दर घटाउने हो,” काफ्लेले स्पष्ट पारे।
‘लुकेर चिट काट्दैनौँ, खुला रूपमा चेकजाँच गर्छौं’
ट्राफिक प्रहरीले लुकेर सवारी चालकलाई चिट काट्ने गरेको आरोप पनि लाग्ने गरेको छ। तर उपत्यका ट्राफिक प्रहरीले अहिले सर्वसाधारणले देख्ने गरी खुला स्थानमा चेकजाँच गर्ने अभियान अघि बढाएको काफ्लेले बताए।
उनका अनुसार विभिन्न क्षेत्रमा ट्राफिक प्रहरीको भौतिक उपस्थितिमार्फत सडक सुरक्षा सचेतना र सवारी अनुगमनलाई प्रभावकारी बनाउने काम भइरहेको छ।
“विभिन्न क्षेत्रमा मानिसलाई सडकमा ल्याएर सडक सुरक्षाको जानकारी दिने र भौतिक उपस्थितिमा सवारी अनुगमनलाई सुनिश्चित र सुरक्षित गराउन ट्राफिक प्रहरी कार्यालय निरन्तर खटिरहेको छ,” उनले भने।
‘टाढैबाट नमस्कार’ अभियान
ट्राफिक प्रहरी र सर्वसाधारणबीचको सम्बन्धलाई थप सहज र आत्मीय बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ‘टाढैबाट नमस्कार’ अभियानसमेत सञ्चालन गरेको छ।
प्रमुख काफ्लेका अनुसार अभियानको उद्देश्य ट्राफिक प्रहरीलाई देख्नेबित्तिकै चालक तथा सर्वसाधारण डराउने वा भाग्ने अवस्था अन्त्य गर्नु हो।
“ट्राफिक प्रहरीलाई देखेपछि डराउने र भाग्ने अवस्था अन्त्य गर्नुपर्छ। हामी नागरिकलाई कारबाही गर्नुभन्दा पहिले सचेत गराउने प्रयासमा छौँ,” उनले भने।
अभियानअन्तर्गत ट्राफिक प्रहरीले नम्र भाषामा सडक नियमबारे जानकारी दिने, चालक तथा सडक प्रयोगकर्तालाई सचेत गराउने र आवश्यक अवस्थामा मात्र कानुनअनुसार कारबाही गर्ने नीति लिएको उनले बताए।
प्रविधिको निगरानीमा सडक
सडक नियम उल्लङ्घन नियन्त्रणका लागि ट्राफिक प्रहरीले प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिएको छ।
उपत्यकाका विभिन्न स्थानमा जडान गरिएका सीसी क्यामेरा तथा अन्य प्राविधिक प्रणालीमार्फत तीव्र गति, लेन उल्लङ्घनलगायतका ट्राफिक नियम उल्लङ्घनको निगरानी तथा अभिलेख राख्ने गरिएको काफ्लेले बताए।
सवारी नम्बर, समय, गति र नियम उल्लङ्घनको दृश्यसमेत अभिलेखमा रहने भएकाले ट्राफिक प्रहरीको प्रत्यक्ष निगरानी छल्दै नियम उल्लङ्घन गरे पनि कारबाहीबाट उम्कन कठिन हुने उनको भनाइ छ।
‘गलत कारबाही भए उजुरी गर्न पाइन्छ’
ट्राफिक प्रहरीले गल्ती नगरेको अवस्थामा कारबाही गरेको वा जरिवाना तिराएको भए सम्बन्धित सवारी प्रयोगकर्तालाई कानुनी रूपमा उजुरी तथा पुनरावेदन गर्ने अधिकार रहेको काफ्लेले बताए।
उनका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०७९ को दफा १७१ मा यससम्बन्धी व्यवस्था गरिएको छ।
“गल्ती नगरेको अवस्थामा जरिवाना तिराइएको भए यातायात व्यवस्था विभागमा ३५ दिनभित्र उजुरी गर्न सकिन्छ। त्यसबाट पनि चित्त नबुझे कानुनी प्रक्रियाअनुसार उच्च अदालतसम्म जान सकिने व्यवस्था छ,” उनले जानकारी दिए।
‘देशभर दैनिक करिब आठ जनाको दुर्घटनामा मृत्यु’
सवारी दुर्घटनाबाट हुने मानवीय क्षति प्रमुख काफ्लेको सबैभन्दा ठूलो चिन्ताको विषय हो।
उनका अनुसार देशभर दैनिक करिब आठ जनाको सवारी दुर्घटनामा मृत्यु हुने गरेको छ। काठमाडौं उपत्यकामा मात्रै दैनिक करिब पाँच जनाको मृत्यु हुने गरेको तथ्यांक रहेको उनले बताए। त्यस्तै दैनिक ५० जनाभन्दा बढी मानिस दुर्घटनाबाट घाइते तथा अंगभंग हुने गरेको उनले उल्लेख गरे।
“यी घटनाले हामीलाई बारम्बार चिन्तित बनाइरहेको हुन्छ। एउटा मानिसको ज्यान जानु भनेको एउटा परिवारको भविष्य नै प्रभावित हुनु हो,” उनले भने।
दुर्घटना न्यूनीकरणका लागि चालक, यात्रु, पैदलयात्री, अन्य सडक प्रयोगकर्ता र ट्राफिक प्रहरीबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
उपत्यकामा २१ लाखभन्दा बढी सवारी
काठमाडौं उपत्यकामा करिब २१ लाख १८ हजार ४ सय सवारी साधन सञ्चालनमा रहेको काफ्लेले जानकारी दिए। तीमध्ये करिब १६ लाख ५६ हजार दुईपाङ्ग्रे सवारी साधन छन्।
बढ्दो सवारी चापसँगै सडकको क्षमतामाथि पनि दबाब बढिरहेको छ। उपत्यकामा नयाँ सवारी साधन दर्ता हुने क्रम निरन्तर बढ्दै गए आगामी वर्षहरूमा सडकको क्षमताले धान्न नसक्ने अवस्था आउन सक्ने उनले चेतावनी दिए।
“अहिले नै सडक नियमको उचित पालना नगर्ने हो भने आगामी पाँच–सात वर्षमा एम्बुलेन्ससमेत हिँड्न नसक्ने अवस्था आउने निश्चित छ,” काफ्लेले भने।
नेपालमा एक स्थानमा दर्ता भएको सवारी साधन देशभर सञ्चालन गर्न पाउने व्यवस्थाका कारण देशका विभिन्न स्थानमा दर्ता भएका सवारीसमेत काठमाडौं उपत्यकामा आउने गरेका छन्। यसले उपत्यकाको सवारी चाप थप बढाएको उनको भनाइ छ।
‘सार्वजनिक यातायात प्रभावकारी बनाउनुपर्छ’
उपत्यकाको ट्राफिक चाप घटाउन सार्वजनिक यातायातलाई प्रभावकारी र व्यवस्थित बनाउनुपर्ने काफ्लेले बताए।
सरकारी नीतिमार्फत ठूला सार्वजनिक सवारी साधनलाई प्राथमिकता दिने र सार्वजनिक यातायातलाई भरपर्दो बनाउन सके निजी सवारी साधनको चाप घटाउन सकिने उनको धारणा छ।
उनका अनुसार सडक विस्तार मात्र गरेर उपत्यकाको ट्राफिक समस्या समाधान नहुने भएकाले सवारी व्यवस्थापन, सार्वजनिक यातायात, सडक अनुशासन र प्रविधिलाई एकीकृत रूपमा अघि बढाउन आवश्यक छ।
तीव्र गति र मादक पदार्थ सेवन मुख्य जोखिम
पछिल्लो समय तीव्र गति तथा मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी चलाउने प्रवृत्ति दुर्घटनाको प्रमुख जोखिमका रूपमा देखिएको काफ्लेले बताए।
“मादक पदार्थ वा लागुऔषध सेवन गरेर सवारी चलाउँदा निर्दोष सडक प्रयोगकर्ताको समेत ज्यान जाने गरेको छ। यसलाई सामान्य रूपमा लिन मिल्दैन,” उनले भने।
उनका अनुसार दुर्घटना नहुँदासम्म केही मिनेट छिटो गन्तव्यमा पुग्न सकिएला। तर दुर्घटना भयो भने त्यसबाट हुने उपचार खर्च, अंगभंग, मानसिक पीडा र परिवारले भोग्नुपर्ने सामाजिक तथा आर्थिक समस्या अत्यन्त ठूलो हुन्छ।
दुईपाङ्ग्रे सवारी बढी जोखिममा
उपत्यकामा सञ्चालन हुने सवारी साधनमध्ये करिब ८२ प्रतिशत दुईपाङ्ग्रे रहेको काफ्लेले बताए।
छिटो गन्तव्यमा पुग्ने हतार, तीव्र गति र सडकमा जोखिमपूर्ण रूपमा सवारी चलाउने प्रवृत्तिका कारण दुईपाङ्ग्रे सवारी बढी दुर्घटनामा पर्ने गरेको उनको भनाइ छ।
ट्राफिक प्रहरीले गर्ने कारबाहीमध्ये करिब ७५ प्रतिशत दुईपाङ्ग्रे सवारीसँग सम्बन्धित रहेको उनले जानकारी दिए।
पछिल्लो समय पठाओ, टुटल, याङ्गोजस्ता राइड सेयरिङ तथा व्यावसायिक प्रयोजनमा प्रयोग हुने दुईपाङ्ग्रे सवारीसमेत दुर्घटनामा पर्ने क्रम देखिएको भन्दै उनले चालक, सेवाप्रदायक कम्पनी र सम्बन्धित सरकारी निकायलाई थप जिम्मेवार बन्न आग्रह गरे।
‘एक ट्राफिक प्रहरीको भागमा १ हजार ३ सय सवारी’
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा करिब १ हजार ६ सय ट्राफिक प्रहरी परिचालनमा रहेको काफ्लेले बताए।
उपत्यकामा सञ्चालन हुने सवारी साधनको संख्याको तुलनामा ट्राफिक प्रहरीको जनशक्ति अत्यन्त सीमित रहेको उनको भनाइ छ।
“सवारीको संख्या अत्यधिक छ, तर ट्राफिक प्रहरीको जनशक्ति सीमित छ। यस्तो अवस्थामा प्रविधिको प्रयोग र नागरिकको सहयोगबिना ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण हुन्छ,” उनले भने।
उनका अनुसार औसतमा एक जना ट्राफिक प्रहरीले करिब १ हजार ३ सय सवारी साधनको निगरानी गर्नुपर्ने अवस्था छ।
‘नियम ट्राफिक प्रहरीको डरले होइन, आफ्नै सुरक्षाका लागि पालना गरौँ’
प्रमुख काफ्लेले सडक नियम पालना गर्नु ट्राफिक प्रहरीको डरका कारण नभई आफ्नै जीवन र अरूको सुरक्षाका लागि आवश्यक रहेको बताए।
“सडक नियम पालना गर्नु भनेको ट्राफिक प्रहरीबाट बच्नका लागि होइन, आफ्नो जीवन र अरूको जीवन बचाउनका लागि हो,” उनले भने।
उनका अनुसार सडकमा चालकको एउटा सानो गल्तीले पनि ठूलो मानवीय क्षति निम्त्याउन सक्छ। त्यसैले सडक प्रयोगकर्ताले आफ्नो अधिकारसँगै जिम्मेवारी पनि बुझ्न आवश्यक छ।
दुर्घटना न्यूनीकरण केवल ट्राफिक प्रहरीको प्रयासबाट सम्भव नहुने भन्दै उनले चालक, यात्रु, पैदलयात्री, सडक निर्माण तथा व्यवस्थापनसँग सम्बन्धित निकाय, सार्वजनिक यातायात व्यवसायी र नागरिक समाज सबैको साझा प्रयास आवश्यक रहेको बताए।
‘दुर्घटना घट्नु नै ट्राफिक प्रहरीको वास्तविक उपलब्धि हो’
प्रमुख काफ्लेका लागि ट्राफिक प्रहरीको उपलब्धिको मापन कति जरिवाना उठ्यो भन्नेमा होइन, कति जीवन जोगाउन सकियो भन्नेमा हुन्छ।
“हाम्रो पहिलो लक्ष्य नागरिकले सडकमा ज्यान गुमाउन नपरोस् भन्ने हो। अघिल्लो महिनाभन्दा यो महिना दुर्घटना र मानवीय क्षति कम गर्न सक्नु नै हाम्रो सफलता हो,” उनले भने।
सडकमा ट्राफिक प्रहरीको उपस्थिति, प्रविधिको प्रयोग र कारबाहीसँगै नागरिकको व्यवहारमा परिवर्तन नआएसम्म दुर्घटना न्यूनीकरण सम्भव नहुने उनको निष्कर्ष छ।
त्यसैले ट्राफिक प्रहरी र नागरिकबीचको सम्बन्ध डर र कारबाहीमा होइन, विश्वास, सहकार्य, अनुशासन र साझा जिम्मेवारीमा आधारित हुनुपर्ने काफ्लेको जोड छ।
उनका शब्दमा, सडक सबैको साझा हो। त्यसैले सडकमा एउटा जीवन जोगिनु नै राज्य, प्रहरी र नागरिक सबैको साझा सफलता हो।






छैन कमेन्ट