काठमाडौँ, फागनु १९
साहित्यसेवी रमा अधिकारी तथा महेश पौड्यालले आफ्ना दिवङ्गत छोरा पराक्रम पौड्यालको स्मृतिमा स्थापना गर्नुभएको ‘पराक्रम बालप्रतिभा पुरस्कार’, वर्ष २०७८ का लागि तामाकोशी गाउँपालिका, च्यामाहावा दोलखाकी एलिशा फुयाललाई र वर्ष २०७९ का लागि केपिलासगढी गाउँपालिका, बाक्सिला, खोटाङका योगेश राईलाई प्रदान गर्ने निर्णय गरिएको छ।
यस पुरस्कारलाई व्यवस्थापन गरिरहेको पर्वतीय साहित्य समाज नेपालका अध्यक्ष साहित्यकार प्रतीक ढकालको अध्यक्षतामा शुक्रबार काठमाडौँमा बसेको प्रतिभा छनोट समितिको बैठकले यस्ताे निर्णय गरेकाे हाे । दृष्टिविहीन भएर पनि अध्ययनका साथै कला, साहित्य–सिर्जना र सङ्गीतमा पोख्त यी विद्यार्थीहरूलाई यी पुरस्कारहरू प्रदान गर्ने निर्णय गरेको समितिकी सदस्य–सचिव साहित्यकार भवानी खतिवडाले जनाएकी छिन् । छानिएका प्रतिभा आदर्श माध्यमिक विद्यालय, मध्यपुर ठिमी, भक्तपुरका विद्यार्थी हुन् ।
पुरस्कार यही फाल्गुन महिनाको कुनै उपयुक्त दिनमा प्रदान गरिने सदस्य–सचिव खतिवडाले सञ्चार माध्यमहरूलाई जानकारी गराएकी छिन् ।
विगत ४ वर्षदेखि प्रदान गरिँदै आएको उक्त पुरस्कारको राशि ११ हजार रहेकोमा यस वर्षदेखि १५ हजार रुपियाँ गरिएको जानकारी पनि उनले दिएकी छिन् । यसअघि यो पुरस्कार आंशिक मस्तिष्क पक्षाघात भएका तर नाकले लेख्न सक्ने दोलखाका कवि प्रतिभा दर्शन केसीलाई, प्रतिकूल आर्थिक अवस्था भएको परिवारबाट आएर पनि जिल्लाभरि वक्तृत्व कलामा अब्बल प्रतिभा देखाउँदै आएकी काभ्रे पाँचखालकी छात्रा तारा तामाङलाई तथा पछाडि परेको चेपाङ समुदायमा गायन प्रतिभाका लागि अब्बल मानिएका प्रेम चेपाङलाई प्रदान गरिएको थियो ।