सुरेन्द्र सुवेदी

काठमाडौँ- विपद् प्रतिकार्य तथा उद्धारका लागि नेपाली सेनाले ४७ हजार स्थानीयलाई तालिम दिएको छ। गत वर्ष १९ हजार ६२ जना स्थानीयलाई तालिम दिएपछि सेनाले तालिम दिएका उद्धारकर्ताको संख्या ४७ हजार पुगेको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको हो।

केन्द्र, प्रदेश र जिल्लातहसम्म विपद प्रतिकार्यका लागि संयुक्त अभ्यास सञ्चालन गरी स्थानीयलाई उद्धार तालिम दिइएको हो। स्थानीयलाई विपद्का बेला खोज, उद्धार र राहत वितरणकार्यलाई छिटो र सहज बनाउन तालिम प्रदान गरिएको सेनाका सहायक रथी राजराम बस्नेतले बताए। सरोकारवालाहरुसँगको समन्वय गरी तालिम दिइएकाले स्थानीय स्तरमा पनि विपद्को प्रतिकार्य गर्ने जनशक्ति तयार भएको उनले बताए।

सैनिक मुख्यालयका अनुसार जिल्लातहमा सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन गरेर गत आर्थिक वर्षमा मात्र १९ हजार ६२ जना विपद‍का बेला उद्धार गर्न सक्ने जनशक्ति थप गरिएको छ।

यता विपद्को पूर्वतयारीका लागि यसपालि नेपाली सेनाले दुई हेलिकोप्टर तयार राखेको छ। ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना– २०८२’ का आधारमा हेलिकोप्टरसहितका सामग्री तयार पारिएको सेनाले जानकारी दिएको हो।

राजधानीमा मेडिकल टोलीसहितको तत्काल उद्धार गर्न सक्ने टिमलाई तयारी अवस्थामा राखिएको छ। यो टिमसहित घटना भएको स्थानमा १५ मिनेटभित्र हेलिकोप्टर परिचालित गरिन्छ। यसका लागि सेनाको गौचर ब्यारेकमा हेलिकोप्टर राखिएको छ।

यस्तै सुन्दरीजल र चितवनमा रहेको नेपाली सेनाको विपद् व्यवस्थापन गणहरुमा तालिम प्राप्त विशिष्टीकृत जनशक्ति विपद् प्रतिकार्यको लागि स्ट्याण्डवाई राखिएको प्रवक्ता सहायक रथी बस्नेतले बताए।

सेनाका सबै युनिटमा तत्काल उद्धारका लागि आवश्यक उपरकण र निश्चित फौज तयारी हालतमा राखिएको छ। सातै वटा प्रदेशका पृतनाहरुमा मिश्रित खोज तथा उद्धार टोली पनि तैनाथी अवस्थामा रहेका छन्। हरेक पृतनामा तत्कालको राहतका लागि जिम्मेवारी क्षेत्र भित्र आवश्यकताअनुसार ढुवानी गर्न सक्ने गरी निश्चित परिमाणमा आवश्यक खाद्यान्न, पाल तथा खाद्यान्न मौजुद रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको हो।

काठमाडौं, सुर्खेतमा हेलिकोप्टर २४सैं घण्टा तयारीमा र एक्रोबृजहरु धादिङ्गको गजुरी, चितवनको भरतपुर र बाराको जितपुरमा पूर्व तैनाथी अवस्थामा राखिएको छ। कुनै राजमार्गका पुल बगाएमा तत्काल बेलिब्रिज जडान गर्न सक्ने जनशक्तिसहित बेलिब्रिज निर्माणका सामग्रीहरू तयार अवस्थामा राखिएको जानकारी सेनाले दिएको छ।

कालीबाबा भन्छन्, “सरकार पटक–पटक बदल्नु हुँदैन, स्थिरता चाहिन्छ”