काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा काठमाडौंको बौद्धस्थित स्तूप परिसरमा दीप प्रज्ज्वलनसहित विशेष प्रार्थना गरिएको छ।

बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता नेपाली तथा विदेशी नागरिकको शीघ्र उद्धार र सकुशलताको कामनासहित तीनदिने प्रार्थना तथा दीप प्रज्ज्वलन कार्यक्रम सुरु गरिएको हो।

बौद्ध धर्मगुरु श्याल्पा रिन्पोछेको अगुवाइमा विभिन्न २१ सामाजिक तथा धार्मिक संघसंस्थाको सहभागितामा आयोजित कार्यक्रममा बौद्ध धर्मगुरु, लामा तथा विभिन्न धर्मका धर्मगुरुसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रममा सहभागीहरूले बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा मौनधारण गर्दै श्रद्धाञ्जली व्यक्त गरे। दीप प्रज्ज्वलन गर्दै उनीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुका साथै अझै सम्पर्कविहीन नेपाली तथा विदेशी नागरिकको खोजी तथा उद्धार कार्य सफल होस् भन्ने प्रार्थना गरे।

‘दुःखलाई करुणा र पुण्यमा रूपान्तरण गरौँ’ रिन्पोछे
कार्यक्रमको सन्दर्भमा धर्मगुरु श्याल्पा रिन्पोछेले नेपालमा परेको विपत्तिबाट प्रभावित परिवार तथा मृतकका लागि व्यक्तिगत रूपमा प्रार्थना गर्न आफू आतुरताका साथ फर्किएको बताएका छन्।

उनका अनुसार किरोङ, रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा भएको जनधनको क्षतिले ठूलो पीडा निम्त्याएको छ। यही पीडाको बीचमा मृतकको चेतनाले सही मार्ग पत्ता लगाओस्, प्रभावित परिवारले शान्ति पाऊन् र बेपत्ताको शीघ्र उद्धार होस् भन्ने उद्देश्यले प्रार्थना, दीप प्रज्ज्वलन तथा पुण्य समर्पण गरिएको हो।

रिन्पोछेले तिब्बती बौद्ध परम्परामा मृत्यु पछिको चेतनाको यात्राका क्रममा गरिने प्रार्थना र आशीर्वादलाई विशेष महत्त्व दिइने उल्लेख गरेका छन्। विशेषगरी मृत्यु पछिको तेस्रो हप्तालाई महत्वपूर्ण मानिने भएकाले यस अवधिमा मृतकका लागि प्रार्थना, अर्पण, दान तथा पुण्यपूर्ण कार्यहरू समर्पण गर्ने परम्परा रहेको उनको भनाइ छ।

तिब्बती बौद्ध शिक्षाअनुसार बार्डो अर्थात् मृत्युपछिको मध्यवर्ती अवस्था परम्परागत रूपमा ४९ दिनसम्म रहने विश्वास गरिन्छ। सात-सात दिनका अवधिमा विभाजित यस यात्रामा परिवार तथा आध्यात्मिक साधकहरूले मृतकका लागि प्रार्थना, ध्यान, अर्पण, दान तथा विभिन्न धार्मिक अभ्यास गर्ने परम्परा रहेको रिन्पोछेले बताएका छन्।

उनले मृतकका लागि गरिने प्रार्थना केवल दिवंगत व्यक्तिको सम्झनामा सीमित नभई जीवित परिवारजनको दुःखलाई करुणा, सद्भाव र पुण्यमा रूपान्तरण गर्ने माध्यमसमेत भएको बताएका छन्।

‘परिवारले मृतकका लागि केवल प्रार्थना गरिरहेको हुँदैन, आफ्नो दुःखलाई करुणा र पुण्यमा रूपान्तरण गर्दै त्यसलाई मृतकको मुक्ति तथा शुभ पुनर्जन्मका लागि समर्पित गरिरहेको हुन्छ’ भन्ने भावनालाई उनले अघि सारेका छन्।

तीन दिन बौद्ध स्तूपमा विशेष पूजा
रिन्पोछेको आव्हानअनुसार सेप्टेम्बर १४, १५ र १६ गते बिहान ७ः३० बजेदेखि १० बजेसम्म बौद्ध स्तूप परिसरमा तीनदिने पूजा, प्रार्थना तथा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना हुँदैछ।

कार्यक्रममा विभिन्न स्वयंसेवी, सामाजिक तथा धार्मिक संस्थाहरूले सहभागिता जनाउने जनाइएको छ। विपत्तिमा ज्यान गुमाएकाहरूको आत्माको शान्ति, बेपत्ताहरूको खोजी तथा उद्धार र विपत्तिबाट प्रभावित परिवारको पीडा कम होस् भन्ने कामनासहित कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

विपत्तिले पुर्‍याएको क्षति अझै गहिरो
गत अगस्ट २६ मा नेपाल-चीन सीमा क्षेत्रबाट आएको विनाशकारी बाढीले रसुवाको भोटेकोशी नदी तथा आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो। बाढीका कारण रसुवा, नुवाकोटलगायत जिल्लाका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेको छ।

बाढीका कारण त्यस क्षेत्रमा आवतजावत गरिरहेका पर्यटक तथा यात्रुसमेत प्रभावित भएका छन्। घटनापछि बेपत्ता तथा प्रभावित पर्यटकको अवस्था पहिचान, उद्धार र उनीहरूका परिवारसँग सम्पर्क कायम गराउने कार्यमा सरकारी निकाय तथा पर्यटन क्षेत्रका निजी संस्थाहरूले समेत समन्वय गर्दै आएका छन्।

यस्तो पीडादायी अवस्थामा आयोजना गरिएको दीप प्रज्ज्वलन तथा प्रार्थना कार्यक्रमले मृतकप्रति श्रद्धाञ्जलीसँगै प्रभावित परिवारप्रति ऐक्यबद्धता र बेपत्ताको शीघ्र खोजी तथा उद्धारका लागि सामूहिक कामनाको सन्देश दिने आयोजकको विश्वास छ।

धर्मगुरु रिन्पोछेले शान्तिप्रेमी सबैलाई कार्यक्रममा सहभागी हुन तथा विपत्तिबाट प्रभावितका लागि गरिने यो प्रार्थना र करुणाको सन्देश देश तथा विदेशसम्म फैलाउन आग्रह गरेका छन्।

सुशासनको नारामाथि व्यङ्ग्यः अख्तियार र विवादको घेरामा परेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व

छैन कमेन्ट

Leave a Reply

Your email address will not be published.Required fields are marked with * .