बद्री प्रसाद चौलागाई ,काठमाडौँ ।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक जारी छ। बिहिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने विषयमा छलफल भइरहेको बताईएको छ । बैठकको सुरुवातमा अध्यक्ष माधवकुमार नेपालले पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन् ।
अध्यक्ष नेपाले बैठकको सुरुमा बोल्ने क्रममा भने ‘हामीले थप प्रष्ट मापदण्ड तयार गर्नुपर्ने हुन्छ । हामीले एउटा मापदण्ड बनाइसकेका छौं त्यसले पुगिरहेको छैन । त्यसैले त्यसमा अरु कुरा जोडेर भएपनि मापदण्डहरु परिमार्जन गर्न आवश्यक छ । यो विषयमा पनि छलफल गर्छौ। सहमति हुन सकेको अवस्थामा हामी नाम ल्याउँछौं होला तर त्यो परिस्थिती बनिरहेको छैन ।’। अध्यक्ष नेपाले भने प्रदेश अध्यक्ष र इन्चार्जहरूले छलफल र परामर्श गरी आफ्नो प्रदेशमा सहमतिको प्रयास गर्नु जरुरी छ ।
बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने नेता जगन्नाथ खतिवडाले बताए ।
केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी सन्तुलन मिलाएर मनोनयन गर्ने एकीकृत समाजवादीको तयारी छ। पार्टीमा दुई सय ६ केन्द्रीय सदस्य पद रिक्त छन्।
सबै जिल्लाको पहुँच केन्द्रीय नेतृत्वमा पुर्याउन तथा भौगोलिक सन्तुलन मिलाउन प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। समावेशीकरणको सिद्धान्तअनुसार महिला र खुला समूह निर्धारण गरी २५ देखि ४५ वर्षको उमेर समूह र खुला उमेर समूह निर्धारण गरिएको छ।
पार्टीमा पदभन्दा आकांक्षी धेरै भएपछि एकीकृत समाजवादीलाई केन्द्रीय सदस्य चयन गर्न हम्मे हम्मे परेको छ । प्रदेश कमिटीका अध्यक्ष र इञ्चार्जले प्रदेशबाट सम्भावित केन्द्रिय सदस्यहरुको नाम बुझाएको लामो समय वितिसक्दा पनि पार्टीले सदस्यहरुको नाम टुँगो लगाउन सकेको छैन ।
प्रदेशहरूको सिफारिसपछि संगठन विभागले सदस्य चयनको गृहकार्य थालेको छ ।
१६–२१ असारमा सम्पन्न महाधिवेशनले १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने घोषणा गरेपनि २० दिन वितिसक्दा पनि केन्द्रीय सदस्यहरुको नाम टुंगो लगाउन सकेको छैन ।
महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसालसहित ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको थियो ।
यसअघि गत २२–२३ असारमा बसेको केन्द्रीय कमिटी बैठकले १० दिनभित्र केन्द्रीय सदस्यको नामावली तयार पार्न प्रदेशका इन्चार्ज र संयोजकलाई जिम्मा दिएकोमा समय सिमा भित्रै प्रदेशले नामावली बुझाईसकेको र अव सबै अधिकार केन्द्रलाई भएको कोशि प्रदेशका अध्यक्ष बलदेव चौधरीले बताए ।
भूगोलल सहित विभिन्न कार्यक्षेत्र, समावेशी र खुला प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिलालाई आरक्षण गर्नुपर्नेछ । महिलालगायत सबै निर्वाचन क्षेत्रबाट २० प्रतिशत २५ देखि ४५ वर्ष उमेर समूहलाई आरक्षण गर्नुपर्नेछ । सबैभन्दा बढी बागमतीबाट २३ जना केन्द्रीय सदस्य हुनेछन् । त्यसपछि कोशी र मधेशबाट २१–२१ जना केन्द्रीय सदस्य बन्नेछन् । कर्णालीबाट १९, लुम्बिनीबाट १८, सुदूरपश्चिमबाट १६, गण्डकीबाट १५ केन्द्रीय सदस्य हुनेछन् । यस्तै, सम्पर्क प्रदेशबाट आठ, पेसागतबाट ६, भारत र अन्य प्रदेशबाट एक–एकजना केन्द्रीय सदस्य बन्नेछन् ।
विधानअनुसार सबै जिल्लाबाट कम्तीमा एकजना केन्द्रीय सदस्य हुनेछन् । प्रदेश अन्तगर्तका २५ सय संगठित सदस्यबराबर एकजनाका दरले केन्द्रीय सदस्य थप हुनेछन् । समावेशी क्षेत्रबाट महिला, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, थारू, अल्पसंख्यक गरी ७० जना केन्द्रीय सदस्य हुनेछन् । पदाधिकारीसहित खुला क्षेत्रबाट ८० जना केन्द्रीय कमिटीमा हुनेछन् । केन्द्रीय समितिको एकतिहाइ पोलिटब्युरो, पोलिटब्युरोको एकतिहाइ स्थायी कमिटी र २१ सदस्यीय पदाधिकारी रहनेछ ।
एकीकृत समाजवादीले केन्द्रीय सदस्यका लागि संगठित सदस्यता लिएको १० वर्ष पूरा भएको हुनुपर्ने, विगतमा जिम्मेवारी सम्पादनको अवस्था, पार्टी नीतिको व्याख्या, विश्लेषण गर्ने क्षमता, जनताबीच क्रियाशीलताजस्ता मापदण्ड बनाएको छ ।