चितवन । चितवनको माडी क्षेत्रमा आज बिहानदेखि अत्यधिक वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टामा माडी र आसपासका क्षेत्रमा अति भारी वर्षा भएको र यो क्रम जारी रहने अनुमान गरिएको छ।

यस परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले रिउ खोला र यसका सहायक नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नदी तटीय क्षेत्र र निचा भू-भागमा बस्ने नागरिकहरूलाई दिउँसो २ बजेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

“कल्याणपुर वर्षा मापन केन्द्रका अनुसार माडी क्षेत्रमा अझै भारी वर्षाको सम्भावना छ,” यादवले भने । “खास गरी रिउ खोला र यसका सहायक नदीहरूमा अचानक बाढी आउन सक्ने भएकाले सतर्क रहन जरुरी छ।”

माडी क्षेत्रमा खहरे खोलाहरूले वार्षिक रूपमा ठुलो क्षति पुर्‍याउने गरेको स्थानीयहरू बताउँछन्। यहाँ सामान्य वर्षामा पनि साना खोलाहरू एक्कासि उर्लिने गर्दछन्, जसले गर्दा बाढी र डुबानको जोखिम बढ्छ। यसैबिच, भरतपुरमा पनि बिहानदेखि नै मुसलधारे पानी परिरहेको छ।

स्थानीय प्रशासनले सम्पूर्ण जिल्लावासीलाई सतर्क रहन र आवश्यक सुरक्षा उपायहरू अपनाउन आग्रह गरेको छ। मौसम विभागले यस क्षेत्रमा अझै केही दिन वर्षा जारी रहने पूर्वानुमान गरेको छ। नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न र आपत्कालीन सूचनाहरूलाई ध्यान दिन अनुरोध गरिएको छ।

ग्रीसमा मरेका माछा हटाउन १ महिना संकटकाल

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

Related Posts