काठमाडौं । नेपाली महिलाहरुको महत्वपूर्ण पर्व हरितालिका (तीज) व्रतको अघिल्लो दिन आज हिन्दु महिलाहरु दर खाने तयारीमा जुटेका छन् । दरखाने दिनसँगै तीज पर्व आजदेखि सुरु हुँदैछ ।
विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ ।
दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाई भोलिको व्रतका लागि पूर्व तयारी गर्छन् ।
आज दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेषगरी दूधबाट बनेका खिर, ढकनेका साथै चाम्रे, सेलपुरी, पुआ र गुँदपाकका साथै फलफूल खाने चलन छ। यस्तै मौसमी तरकारी-अचार बनाएर पनि खाने चलन छ।
दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ। दर दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने मान्यता रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्। अचेल एकडेढ महिनादेखि पार्टी प्यालेसमा भोज गर्ने र दरका नाममा तामसिक पदार्थ खाने चलन बढेको भन्दै संस्कृतिविद् चिन्ता व्यक्त गर्छन्।