काठमाडौं । न्यायपरिषदले प्रधानन्यायाधीशका लागि योग्य न्यायाधीशहरुको सूची संवैधानिक परिषद्को सचिवालयमा पठाएको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आगामी १९ असोजमा ६५ वर्षे उमेरहदका कारण अवकाश हुने भएपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषदले योग्यता पुगेकाहरुको सूची पठाएको हो ।
नेपालको संविधानमा ३ वर्ष सर्वोच्च अदालतको न्यायाधीश भएको व्यक्ति प्रधानन्यायाधीशका लागि योग्य हुने व्यवस्था छ । त्यही आधारमा सर्वोच्च अदालतमा ३ वर्ष न्यायाधीश भइसकेकाहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोज शर्मा, डा. कुमार चुडाल, डा. नहकुल सुवेदीको नाम परिषदको सचिवालयमा पठाएको हो ।
प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुनुपर्ने संवैधानिक व्यवस्था छ ।