काठमाडौं । श्रीलंकाको ९ औँ राष्ट्रपतिमा वामपन्थी दल जनता विमुक्ति पेरामुना (जेभीपी) का नेता अनुरा कुमार दिशानायके निर्वाचित भएका छन्। पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतगणनाबाट अनुरा राष्ट्रपतिमा निर्वाचित भएका हुन्।
अनुराले ५७ लाख ४० हजार १७९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी प्रेमदासाले ४५ लाख ३० हजार ९०२ मत प्राप्त गरे।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतगणनाको घोषणा गरिएको थियो। श्रीलंकाको राष्ट्रपतीय निर्वाचनको इतिहासमा दोस्रो चरणको मतगणना भएको यो पहिलोपटक हो। चुनावको क्रममा मतदातालाई आफ्नो रोजाइअनुसार तीन जना उम्मेदवार छान्न भनिएको थियो।
चुनाव आयोगले अनुरा कुमारा दिसानायके र सजीथ प्रेमदासाबाहेक अरू सबै उम्मेदवार चुनावको दौडबाट बाहिरिएको जनाएको थियो। प्रेदासालाई पछाडि पार्दै अनुरा श्रीलंकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन्। चुनावमा बहालवाला राष्ट्रपति रानिल बिक्रमसिंघेले पनि प्रतिस्पर्धा गरेका थिए। मतपरिणामअनुसार उनी तेस्रो भए।
चुनावी अभियाका क्रममा अनुराले मतदातामाझ भ्रष्टाचारविरूद्ध कडा कदम उठाउने प्रतिबद्धता जनाएका थिए। उनले साेमबार राष्ट्रपति पदकाे सपथ लिने बताइएकाे छ। श्रीलंका सरकारले साेमबार देशमा ‘विशेष बिदा’ काे घाेषणा गरेकाे छ। त्यहाँकाे सामान्य प्रशासन एवं गृह मन्त्रालयले साेमबार सार्वजनिक बिदा दिने घाेषणा गरेकाे स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।