काठमाडौं । प्रेस काउन्सिल नेपालले ‘नेपाली मिडियाको इतिहास : छापादेखि डिजिटलसम्म’ नामक पुस्तक ल्याएको छ । शुक्रबार एक समारोहकाबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा र वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले पुस्तकको संयुक्तरूपमा विमोचन गरे ।
पुस्तकले नेपाली मिडियाको छापादेखि डिजिटल युगसम्मको इतिहासलाई समेटेको छ ।
नेपाली मिडियामा अनुसन्धान गरिरहेका डा. कुन्दन अर्याल, डा. रघु मैनाली, डा. जगत नेपाल, तीर्थ कोइराला, शुभेच्छा विन्दु तुलाधर, उज्ज्वल आचार्य, भुवन केसी र रुद्र खड्काका अनुसन्धानमूलक आलेख पुस्तकमा छ ।
पुस्तकमा नेपाली पत्रकारिताले भोगेको कठिन अवस्था र विभिन्न कालखण्डमा गरेको संघर्षको गाथा समेटिएको छ ।
पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथि मन्त्री पन्तले दक्षिण एसियाका अन्य देशहरूभन्दा नेपालको प्रेस बढी स्वतन्त्र रहेको बताए । ‘पत्रकार बेपत्ता हुनुपरेको छैन, जागिर गुमाउनुपरेको छैन । तुलनात्मक रूपमा यहाँको अवस्था सुधारोन्मुख छ’, उनले भने ।
मन्त्री पन्तले पत्रकारले लडेर ल्याएको प्रेस स्वतन्त्रतालाई संरक्षण गरी राख्नुपर्नेमा जोड दिँदै पत्रकारका क्षेत्रका काम गर्ने निकायलाई सक्षम, प्रभावकारी बनाउँदै प्रेस स्वतन्त्रतालाई संरक्षण गर्न सबैको सहकार्य र समन्वय आवश्यक पर्ने बताए । नेपाल पत्रकार महासंघका महासचिव, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य र विभिन्न पत्रिकाका सम्पादक रहिसकेका मन्त्री पन्तले अहिलेको अवस्थामा पत्रकारिताको गरिमा जोगाउने चुनौती भएकाले सम्पादकहरू बढी जिम्मेवार बन्नुपर्ने सुझाव दिए । पत्रकारिताको सम्पत्ति भनेको विश्वसनीयता भएकाले त्यसलाई नबिर्सन उनले सम्पादकहरूसँग आग्रह गरे ।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले नेपाली सञ्चारमाध्यमको इतिहास छापादेखि डिजिटल प्रविधिसम्म आउँदा विश्वसनीयता गुम्दै गएको हो कि भन्ने अवस्था देखिएको बताइन् । ‘सञ्चारमाध्यममा आएका आधारहीन र तथ्यहीन सामग्रीलाई कसरी परास्त गर्ने भन्नेतर्फ सबै सचेत हुनु आवश्यक छ’, उनको भनाइ थियो ।
पुस्तकबारे समीक्षात्मक टिप्पणी गर्दै वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले पत्रकारिताका नयाँ र पुराना पुस्ताबीच सार्थक संवादको आवश्यकता देखिएकोमा जोड दिए । उनले यस्तो छलफल अघि बढाउन र सञ्चारमाध्यमसँग चासो राख्ने सबैलाई यो पुस्तक उपयोगी हुने बताए ।
छापा, टेलिभिजन, रेडियो र न्यूज पोर्टल न्यूमिडियाको भूमिका र जिम्मेवारी समयअनुसार फरक–फरक देखिए पनि मूल ध्येय पाठक तथा स्रोतालाई सुसूचीत गराउने र जागरण ल्याउने रहेको उनले बताए ।
कार्यक्रममा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेत, कान्तिपुर टेलिभिजनका सम्पादक विजय पौडेल, डिजिटल मिडिया सोसाइटीका अध्यक्ष प्रतीक प्रधान, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल, दृष्टि साप्ताहिकका प्रधान सम्पादक शम्भु श्रेष्ठ, वरिष्ठ पत्रकार तीर्थ कोइराला, डिजिटल मिडिया अलाइन्स नेपालकी उपाध्यक्ष मोनिका सिंहलगायतले नेपाली पत्रकारिता र यसको चुनौती र अवसरका बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा मूलधारका सञ्चारमाध्यमका सम्पादक तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।
नेपाली पत्रकारिताको इतिहास लेखन कार्यमा करिब ६ दशकपछि आएको यो पुस्तक नेपाली पत्रकारितामा रुची राख्नेहरूका लागि काउन्सिलको सराहनीय कार्यको रूपमा लिइएको छ । यसअघि २०२२ सालमा ग्रीष्मबहादुर देवकोटाले ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’ पुस्तक लेखेका थिए ।





