मोरङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवाको आधुनिकीकरण जरुरी भएको बताउनुभएको छ ।
हुलाक सेवा विभागद्वारा आज विराटनगरमा आयोजना गरेको हुलाक सेवा विभागको पुनर्संरचना विषयक अन्तरक्रियामा उहाँले राणा शासनमा स्थापना भएको हुलाक सेवाको आधुनिकीकरण गरी सेवा प्रवाह राम्रो बनाउनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री गुरुङले भन्नुभयो, “बदलिँदो परिवेशअनुसार संस्था चल्नुपर्छ, हुलाकलाई जनताको सेवामा प्रयोग गर्नुपर्छ, सेवासँगै व्यापार गर्न जरुरी छ ।” उहाँले हुलाक सेवालाई व्यवस्थित गर्न वार्षिक क्यालेन्डरअनुसार काम गर्न सुझाव समेत दिनुभयो । उहाँले हुलाक सेवालाई प्रविधिमैत्री बनाउन सरकारले सहयोग गर्ने समेत उल्लेख गर्नुभयो ।
मन्त्री गुरुङले हुलाकलाई विश्वसनीय बनाउनुपर्नेमा जोड दिँदै द्रुत गति कुरियर सेवा विश्वका १९३ वटै देशमा पु¥याउन आवश्यक रहेको बताउनुभयो । मन्त्री गुरुङले इकमर्शका माध्यमबाट जनतालाई सेवा दिनमा ध्यान केन्द्रित राख्नुपर्ने सुझाव दिँदै हुलाकले व्यवसायका विस्तार गरी आत्मनिर्भर हुनुपर्ने टिप्पणी गर्नुभयो ।





