काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), कानून विभागले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि राज्यले प्रतिशोध साधेको जिकिर गरेको छ।
आइतबार विभाग प्रमुख डा.देउमान सम्वाहाङफेले एक विज्ञप्ति जारी गरेर उक्त जिकिर गरेको हो। जारी विज्ञप्तिमा भनिएको छ,‘हाम्रो गौरवशाली पार्टीका श्रदेय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमरेड माधवकुमार नेपाल विरूद्द अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल सरकारको नितिगत निर्णयको विपक्षमा भ्रष्टाचार जस्तो गम्भिर अभियोगलगाई विशेष अदालतमा मुद्दा दायर गरेकोले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कानून विभागको गम्भिर ध्यानाकर्षण भई उक्त मुद्दा प्रतिशोधपूर्ण छ भन्ने ठहरसमेत गरेको छ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सो मुद्दा राजनितिक प्रतिशोधको रुपमा पार्टीप्रति दुराग्रह राखी, पुर्वाग्रही ढंगले मुद्दा दायर गरि सकेको हुँदा सो मुद्दामा पार्टीको तर्फबाट कानूनी प्रतिरक्षा गर्ने र सम्मानित अदालत समक्ष पार्टी संगठनको तर्फबाट प्रतिरक्षा गर्दै कानूनी शासनको लागि दृढ प्रतिवद्द रही राजनितिक ढंगबाट भएका गलत कार्यहरुको भण्डाफोर गर्ने र सो कार्यको लागि सम्पुर्ण न्यायाकर्मी आम समुदायमा हार्दिक अनुरोध गर्दछौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दाको वारेमा कु प्रचार नगर्न नगराउनको लागि आम जनसमुदाय तथा पार्टी पंतिलाई हार्दिक अनुरोध गर्दछौँ। उक्त मुद्दाको सन्र्दभमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफैले आर्थिक लेनदेन नभएको भनी तामेलीमा राखेको विषय आफैमा विरोधाभास छ। तसर्थ यो मुद्दा दुरासायका साथ आफै उठान गरि गरिएको देखिन्छ। उक्त कार्य गैर संवैधानिक, गैर कानुनी भएको कुरासमेत आम जनमानस तथा पार्टी पंती समक्ष जानकारी गराउदछौँ।’






