काठमाडौं । हालै सम्पन्न MD/MS Matching प्रणाली प्रति धेरै विद्यार्थीहरू सुरुदेखि नै असन्तुष्ट देखिंदै आएका छन्। चिकित्सा शिक्षा आयोग (MEC) को समन्वयमा सम्पन्न हुने यो प्रक्रिया पारदर्शी र निष्पक्ष हुनु पर्ने अपेक्षा गरिए पनि विद्यार्थीहरूको विश्वास झन घट्दै गएको देखिएको छ।
केही विद्यार्थीहरूले चिकित्सा शिक्षा आयोग, स्वास्थ्य मन्त्रालय तथा शिक्षा मन्त्रालयमा पटक–पटक ध्यानाकर्षण गराउँदै आए पनि उनीहरूको गुनासो सुनुवाइ नभएको आरोप लाग्दै आएको छ। यसै क्रममा, पछिल्लो समय फेरि एकपटक “चलखेल” को शंका बलियो बन्दै गएको छ।
विश्वसनीय स्रोतहरूका अनुसार, केही दलाल समूहहरूले विदेश—विशेष गरी USMLE तथा भारतका विभिन्न मेडिकल कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूमार्फत नेपालका मेडिकल कलेजहरूमा सिट रोक्न लगाई, पछि ती सिटहरू आफ्ना चिनेजानेका विद्यार्थीहरूका नाममा मोटो रकम लिएर बिक्री गरिएको आरोप लाग्दैछ। यसमा केही कर्मचारी र दलालहरूको मिलोमतो रहेको अड्कल पनि गरिएको छ।
यसपालि त केही महिला विद्यार्थीहरूलाई विशेष लाभ दिइएको दावी पनि गरिएको छ, जसले प्रक्रिया प्रति निष्पक्षताको गम्भीर प्रश्न खडा गरेको छ।
आयोगको मौनता चिन्ताजनक
हालसम्म चिकित्सा शिक्षा आयोग वा स्वास्थ्य मन्त्रालयबाट यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। सार्वजनिक स्वास्थ्य र चिकित्सा शिक्षामा विश्वास कायम राख्न यथाशिघ्र स्वतन्त्र छानबिन समिति गठन गरी दोषीमाथि कारबाही हुनुपर्ने आवाज चुलिंदै गएको छ।
यस अवस्थामा, यदि सम्बन्धित निकायहरूले समयमै निष्पक्ष छानबिन र कारबाही नगरे, भविष्यमा योग्य विद्यार्थीहरू हतोत्साहित हुने र सिस्टममै गम्भीर संकट उत्पन्न हुने खतरा रहेको विज्ञहरूले चेतावनी दिएका छन ।





