काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति र विचारका आधारमा कम्युनिष्ट एकता हुनुपर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्म शताब्दी तथा ४७औँ स्मृति दिवसका अवसरमा शनिवार लोककृष्ण भट्टराईद्वारा लिखित निर्वासन पुस्तक विमोचन कार्यक्रममा सम्बोधन गर्दै उनले दलाल पुँजीवादको पक्षपोषण नगरी त्यस विरुद्ध संघर्ष गर्ने वाम शक्तिबीच एकता हुन सक्ने बताए ।
“म पनि कम्युनिष्ट एकताको पक्षपाती हो । तर, विगतबाट पाठ सिक्नुपर्छ, नीति र विचारमा एकता हुनुपर्छ”, अध्यक्ष दाहालले भने, “दलाल, पुँजीवादका विरुद्ध एक हुने संकल्प गर्नु पुष्पलालप्रति सम्मान हो, कम्युनिष्ट एकता त्यहीँबाट सुरु हुन्छ ।” पुष्पलालले अघि सारेका विचारबाट निर्देशित हुने र त्यसको अनुसरण गरे मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।
“पुष्पलालले सही विचार, सही राजनीतिक रणनीतिसहित कार्यशैली र आचरणको आधारमा एकता भन्नुभएको हो, पुष्पलाल कम्युनिष्ट नामको साइनबोर्डका आधारमा एकताको पक्षमा हुनुहुन्थेन”, अध्यक्ष दाहालले भने, “अमूर्त कुराले एकता टिक्दैन, हुँदैन । कम्युनिष्टहरुसँग एकता हुन्छ कम्युनिष्ट विरोधीसँग कसरी एकता हुन्छ ? त्यो त विगतमा देखियो नि ।”
अध्यक्ष दाहालले विगतको वाम एकतालाई जनता र कम्युनिष्ट कार्यकर्ताहरूले अनुमोदन गरे पनि त्यो एकता नसिकेको उल्लेख गर्दै यसको उत्तर नखोजी एकता हासिल नहुने बताए। “आजको अन्तर्राष्ट्रिय शक्ति सन्तुलन परिस्थिति आजको राष्ट्रिय परिस्थिति क्षेत्रीय परिस्थिति उत्पादक शक्तिको विकासको अवस्था जनताको बीचको उत्पादन सम्बन्ध र त्यसबाट मानिस मानिसबीचको सम्बन्धको अवस्थाबारे विश्लेषण नगरी एकता हुँदैन रैछ”, उनले भने ।





