काठमाडौं । समाजवादी मोर्चाले पछिल्लो समय जनता र पार्टीका नेता कार्यकर्ताको अपेक्षा पूरा गर्ने कुरामा कमजोरी देखा परेको निष्कष निकालेको छ ।

मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूले मोर्चाको औचित्यमाथि उठेका प्रश्नहरूलाई चिर्दै अझ सक्रिय र प्रभावकारी ढंगले अघि बढ्ने जनाएका छन् ।

मूलभूत रूपमा मोर्चा सफल रहे पनि अपेक्षित ढङ्गले गति लिन नसकेको बैठकले निष्कर्ष निकालेको सुनाए।

मङ्गलवार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठक पछि पत्रकारसँग मोर्चाका धारणा सार्वजनिक गर्दै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले आजको बैठकमा यसलाई सुदृढ गरेर अघि बढ्ने गरी छलफल भएको जानकारी दिए ।

उनले भने, ‘मूलभूत रूपमा यस बीचमा मोर्चा सफल रह्यो भन्ने निष्कर्ष छ । तर यसका केही समस्या छन् । मोर्चाले जुन ढङ्गले गति लिनुपर्थ्यो । जनता र मोर्चामा सहभागी पार्टीका नेता र कार्यकर्ताका अपेक्षा, इमानदार नेता कार्यकर्ताको अपेक्षालाई सशक्त रूपमा परिपूर्ती गर्ने काममा केही सीमा रहे ।’

सोही कारण पनि पछिल्लो दिनमा मोर्चामाथि प्रश्न उठेको उनले स्वीकार गरे । ‘जसका कारण पछिल्ला दिनमा अलिकति प्रश्न उठेका छन् । हाम्रा सीमाहरूलाई निर्ममतापूर्वक सच्याउनेतिर लानुपर्नेमा हामी पुगेका छौँ,’ उनले भने । ‘मोर्चाले बीचमा थुप्रै महत्वपूर्ण कामहरू गर्‍यो, यथास्थितिवादी र प्रतिगमनकारी षड्यन्त्रहरुलाई असफल बनाउन मोर्चा सफल भएको छ । ’ प्रवक्ता विश्वकर्माले भने, ‘तर जुन गति र प्रभावकारिता देखिनुपर्ने थियो, त्यो सीमित रह्यो। अब निष्कर्षमा पुगेका छौं( मोर्चालाई निर्ममतापूर्वक सुधार गर्दै सशक्त बनाइनेछ।’

समाजवादी मोर्चालाई अहिलेको वस्तुस्थितिमा देशलाई समाजवादी व्यवस्थामा लाने तहसम्म आफूलाई सुदृढ गर्नुपर्नेतिर सोचिएको उनले बताए । त्यसका लागि राजनीतिक र बौद्धिक क्षेत्रका व्यक्तिहरूसँग छलफल हुने पनि उनले बताए ।

उनले समाजवादी मोर्चालाई कसरी औचित्यपूर्ण बनाउने भन्नेबारेमै बहस केन्द्रित रहेको बताए । ‘समाजवादी विचारधारामा रहेका दलहरूबीच कार्यगत एकता गर्ने सुरुवाती चरणको मर्मअनुसार हिँड्नुपर्छ भन्नेमै छलफल भयो र यसलाई थप प्रभावकारी बनाउने कुरामा नेताहरू सहमत हुनुभएको छ,’ विश्वकर्माले भने, ‘मोर्चाको स्पिरिटअनुसार काम नगर्दा क्षति भयो भन्ने नै हाम्रो निष्कर्ष हो । समाजवादी मोर्चाका सबै कमरेडहरूले चिन्ताभावका साथ यो कुरा राख्नुभयो ।’

उनले नेपालका सबै कम्युनिष्ट, क्रान्तिकारी र देशभक्त शक्तिहरूले देशको संकट समाधानका लागि नयाँ ढंगले सोच्नुपर्ने बेला आएको बताए।

बैठकले देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध छिट्टै ठूलो सडक प्रदर्शन गर्ने निर्णय गरेको समेत बताए। उनले देश र जनताका साझा मुध्दाहरुमा मोर्चाको साझा सहमति रहने समेत सुनाए । उनले यथास्थितिवादी र प्रतिगमनकारी षड्यन्त्रहरुलाई रक्षात्मक अवस्थामा पुर्‍याउन मोर्चा सफल भएको समेत दावी गरे ।

मोर्चाले सातै प्रदेशमा कार्यक्रम गरी सरकारलाई खबरदारी गर्ने त्यसको लागि पछि कार्यक्रम तय गर्ने भनिएको छ । ‘मोर्चाको कार्यक्रमिक प्रस्ताव परिमार्जनसहित पारित भएको छ भने विचार मिल्नेहरुलाई मोर्चामा आवद्ध गराउने निर्णय समेत भएको बताईएको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ र कृष्णबहादुर महरा सहभागी थिए ।

नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपालसहित नेताहरू वामदेव गौतम,प्रमेश हमाल र घनश्याम भुसाल सहभागी थिए भने नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव पनि बैठकमा सहभागी थिए ।

मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

पूजन काफ्लेको तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक (भिडियो सहित)

४७ हजार स्थानीयलाई सेनाले दियो उद्धार तालिम